जनकपुरधाम, असोज १८। जनमत पार्टीको अध्यक्षमा डा। सीके राउत पुनः निर्वाचित भएका छन्। वीरगञ्जमा सम्पन्न पार्टीको महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा राउत ९५८ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्।
अध्यक्ष पदमा राउतको मात्र उम्मेदवारी परेको थियो। तर पार्टी विधानअनुसार उम्मेदवारले कुल सदर मतको कम्तीमा २० प्रतिशत मत प्राप्त गर्नुपर्ने व्यवस्था रहेकाले अध्यक्ष पदका लागि पनि मतदान भएको थियो।
महाधिवेशनमा २६ पदाधिकारीसहित ९९ पदका लागि निर्वाचन भएको थियो।
सात उपाध्यक्ष निर्वाचित
उपाध्यक्ष पदमा ११ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो। निर्वाचनबाट सिरहाकी अनिताकुमारी मण्डल, धनुषाकी अनितादेवी साह, कपिलवस्तुका नरेन्द्रप्रसाद चौधरी, रौतहटका बसन्तकुमार कुशवाहा, सप्तरीका डा। जयकान्त राउत, सिरहाका राजयकुमार यादव र पर्साका माधवप्रसाद सिंह निर्वाचित भएका छन्।
उपाध्यक्षका प्रतिस्पर्धी परमेश्वर मुर्मु, हरपाल सिंह सोडी, मनोहरा देवी बैठा र रोशन खातुन भने पराजित भए।
महासचिवमा सञ्जयकुमार यादव
महासचिव पदमा सिरहाका सञ्जयकुमार यादव निर्वाचित भएका छन्। उनले ६१८ मत प्राप्त गर्दै विजयी भएका हुन्।
महासचिव पदमा ममता झा र चन्दनकुमार सिंह पनि प्रतिस्पर्धामा थिए। झाले २२० र सिंहले १६५ मत प्राप्त गरे। दुवैले पार्टीले तोकेको २० प्रतिशत थ्रेसहोल्ड पूरा गर्न नसकेको जनमत पार्टीले जनाएको छ।
उपमहासचिवमा सिरहाका निर्मलकुमार मण्डल ५०१ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी ललितचन्द्र मल्लिकले ४१४ मत प्राप्त गरे।
सचिव पदमा सुरेन्द्र शर्मा, पारसप्रसाद साह, सन्तोष राज सहनी, अन्जनी देवी, राधाकुमारी यादव, हरेन्द्र चौधरी र बालगोविन्द चौधरी निर्वाचित भएका छन्।
सात सचिव पदका लागि नौ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो। वीरेन्द्र महतो ‘जीवन त्यागी’ र रामबाबु साह भने पराजित भएका छन्।
वीरगञ्जमा सम्पन्न महाधिवेशनबाट राउतले पार्टी नेतृत्वमा निरन्तरता पाएका छन् भने विभिन्न पदमा मधेसका जिल्लासहित अन्य क्षेत्रका नेताहरू निर्वाचित भएका छन्।




