काठमाडौं, असोज १८ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्र, सार्वभौमसत्ता, विकास र समृद्धिको पक्षमा नेपाली कांग्रेससँग सहकार्य गर्न एमाले तयार रहेको बताएका छन्।
काठमाडौंमा आइतबार सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पोखरेलले मुलुक विभिन्न चुनौतीबाट गुज्रिरहेको भन्दै राष्ट्रियतासँग जोडिएका विषयमा राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने बताए।
उनले जलवायु परिवर्तनका कारण नेपालमा प्राकृतिक विपत्तिको जोखिम बढ्दै गएको उल्लेख गर्दै विपत्तिको सामना गर्न पनि राजनीतिक दलहरूबीच सहकार्य आवश्यक रहेको बताए।
भोटेकोशी र त्रिशूलीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएको र अझै हजारौँ मानिस बेपत्ता रहेको उल्लेख गर्दै पोखरेलले जलवायु न्याय नेपालको साझा सरोकारको विषय भएको बताए।
लोकतन्त्रको रक्षाका लागि दलहरू एकजुट हुनुपर्ने
पोखरेलले लोकतन्त्रको भविष्यमाथि समेत चिन्ता उत्पन्न भएको बताए। निर्वाचित जनप्रतिनिधि, संसद् र नागरिकसँग सरकारले पर्याप्त संवाद गर्न नसकेको आरोप लगाउँदै उनले लोकतन्त्रको रक्षाका लागि राजनीतिक दलहरू सामूहिक रूपमा अघि बढ्नुपर्ने धारणा राखे।
उनले विगतमा वामपन्थी र लोकतन्त्रवादी शक्तिहरू मिलेर राणाशासन, पञ्चायत र राजा ज्ञानेन्द्रको शासन अन्त्य गरेको स्मरण गर्दै लोकतन्त्रको रक्षाका लागि फेरि सामूहिक रूपमा अघि बढ्नुपर्ने अवस्था आएको बताए।
नेपाल भूराजनीतिक द्वन्द्वको चपेटामा पर्न सक्ने जोखिम रहेको भन्दै उनले राष्ट्रियता र सार्वभौमसत्ताको रक्षाका लागि राजनीतिक दलहरूबीच साझा धारणा आवश्यक रहेको बताए। राष्ट्रिय हितका विषयमा छिमेकी मुलुकलाई समेत आश्वस्त पार्ने गरी दलहरूले साझा धारणा बनाउनुपर्ने उनको भनाइ थियो।
युवाका अपेक्षा सम्बोधन गर्नुपर्ने
पोखरेलले जनताले सुशासन, प्रभावकारी सेवा प्रवाह र तीव्र विकासको अपेक्षा गरे पनि ती क्षेत्रमा अपेक्षाअनुसार प्रगति हुन नसकेको बताए।
रोजगारीका लागि ठूलो संख्यामा युवा विदेश जान बाध्य भइरहेको उल्लेख गर्दै उनले नयाँ पुस्ताका सपना र अपेक्षालाई निराशामा बदल्न नहुने बताए।
इतिहासको गौरवलाई भविष्यको योजना र संकल्पमा बदल्न नसकेसम्म युवाका सपना पूरा गर्न नसकिने उनको भनाइ थियो।
सूचना प्रविधिको तीव्र विकासले समाजको मनोविज्ञानमा ल्याएको परिवर्तनलाई राजनीतिक दलहरूले आत्मसात् गर्नुपर्ने पोखरेलले बताए। कांग्रेसको १५औँ महाधिवेशनले नयाँ पुस्ताका अपेक्षा र भावनालाई सम्बोधन गर्न सक्नुपर्ने उनको धारणा थियो।
उनले राजनीतिक दलमा केवल नेतृत्वको अनुहार परिवर्तन गरेर मात्र नपुग्ने बताए। नयाँ पुस्ताको मनोविज्ञानअनुसार राजनीतिक आन्दोलन, संगठन र कार्यशैलीलाई समेत नयाँ रूपमा अघि बढाउनुपर्नेमा उनले जोड दिए।




