जनकपुरधाम, असोज १९ । १२ वर्षदेखि निर्माणाधीन हेटौँडा-ढल्केबर ४०० केभी प्रसारण लाइन अब सञ्चालनमा आउने भएको छ। स्थानीय अवरोध, वन क्षेत्रको प्रयोगसम्बन्धी अनुमति र न्यायिक प्रक्रियामा भएको ढिलाइका कारण लामो समयदेखि रोकिएको आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको हो।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार बाँकी काम सम्पन्न गरी करिब दुई साताभित्र प्रसारण लाइन चार्ज गर्ने तयारी भइरहेको छ। आइतबार ऊर्जामन्त्री विराजभक्त श्रेष्ठसहितको टोलीले ढल्केबर सबस्टेसन र हेटौँडाको थानाभ¥याङमा निर्माण भइरहेका मल्टिसर्किट टावरको निरीक्षण गरेको थियो।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार प्रसारण लाइनका १६ टावरमध्ये १४ वटा डबल सर्किट टावर निर्माण भइसकेका छन्। बाँकी दुई मल्टिसर्किट टावरको निर्माण अन्तिम चरणमा पुगेको र करिब १५ दिनमा काम पूरा गरेर लाइन चार्ज गर्ने योजना छ।
हेटौँडा उपमहानगरपालिका–१५, १६ र १७ को हटिया क्षेत्रमा १४ वटा तथा हेटौँडा–११ थानाभ¥याङमा दुईवटा टावर निर्माणमा लामो समयदेखि अवरोध थियो। थानाभ¥याङ क्षेत्रमा टावर निर्माण गर्दा ऐलानी जग्गामा बनेका ४६ भन्दा बढी घर प्रभावित हुने भएपछि स्थानीयलाई क्षतिपूर्तिको व्यवस्था गरिएको थियो।
त्यस्तै, हटिया क्षेत्रमा स्थानीयले राइट अफ वे परिवर्तनको माग गरेका थिए भने वन क्षेत्र प्रयोग र रुख कटानको अनुमति नपाउँदा पनि काम प्रभावित भएको थियो। गत असार २४ गतेको मन्त्रिपरिषद् बैठकले मकवानपुरका दुई सामुदायिक वनअन्तर्गत २।२ हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न तथा त्यहाँका १ हजार २९२ वटा रुख हटाउन स्वीकृति दिएपछि निर्माण अघि बढेको हो।
प्रसारण लाइन सञ्चालनमा आएपछि हेटौँडा–ढल्केबर विद्युत् प्रवाह क्षमता उल्लेख्य बढ्नेछ। हाल करिब ३०० मेगावाटमा सीमित विद्युत् प्रवाह यो लाइनबाट करिब २ हजार मेगावाटसम्म पुर्याउन सकिने प्राधिकरणले जनाएको छ।
करिब ३०० किलोमिटर लामो हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको ढल्केबर–इनरुवा १५४ किलोमिटर खण्ड भने दुई वर्षअघि नै निर्माण सम्पन्न भइसकेको छ।




