मोटरसाइकल दुर्घटनामा परेका चालकको साथबाट पेस्तोल बरामद



सर्लाही, असोज १९ । सर्लाहीको कविलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले पेस्तोल बरामद गरेको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा कविलासी नगरपालिका–३ मदनपुरका ३३ वर्षीय तुलसी ठाकुर रहेका छन्। उनको साथबाट एक थान सिक्सर पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय मलङ्गवाले जनाएको छ।

सोमबार बिहान मोटरसाइकल दुर्घटना भएको सूचना पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। दुर्घटनामा परेको मोटरसाइकलका चालक ठाकुरको साथमा पेस्तोल फेला परेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको सर्लाही प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।

प्रहरीका अनुसार ठाकुर प्रदेश राजधानी जनकपुरबाट मदनपुरस्थित आफ्नो घरतर्फ बीआर ३० वाइ २८५३ नम्बरको मोटरसाइकलमा आउँदै गर्दा दुर्घटनामा परेका थिए।

दुर्घटनामा ठाकुरको दाहिने गाला र बायाँ हातमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ। घटनास्थलमै प्रारम्भिक उपचार गरिएपछि उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मलङ्गवाको हिरासतमा राखिएको डीएसपी गौतमले बताए।

प्रहरीले ठाकुरले पेस्तोल किन र कुन प्रयोजनका लागि बोकेका थिए भन्ने विषयमा अनुसन्धान गरिरहेको जनाएको छ। उनको साथबाट बरामद भएको हतियारका सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ।

प्रहरीले घटनासँग सम्बन्धित अन्य पक्षबारे समेत अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति: २०८३ आश्विन १९, सोमबार १४:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको