एमाले स्थायी कमिटीमा बहुमत जुटाउन ओलीलाई सकस

महासचिव पोखरेलसँग मध्यरातसम्म छलफल


काठमाडौं, असोज २४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई स्थायी कमिटी बैठकमा आफ्नो प्रस्ताव पारित गराउनका लागि बहुमत जुटाउन सकस परेको छ। पार्टीका विभिन्न जिम्मेवारीमा नियुक्तिका लागि आफूले तयार पारेको सूचीमा नेताहरूले असहमति जनाएपछि ओलीले महासचिव शंकर पोखरेललाई गुहारेका छन्।

शुक्रबार बसेको स्थायी कमिटी बैठकमा केन्द्रीय सदस्य मनोनयन, स्थायी कमिटीमा सदस्य थप, पोलिटब्युरो गठन, ज्येष्ठ कम्युनिस्ट मञ्च तथा पार्टीका विभिन्न विभागका जिम्मेवारी बाँडफाँटसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने तयारी ओलीले गरेका थिए।

तर, अध्यक्ष ओलीले एकल रूपमा तयार पारेको सूचीलाई बैठकमा सहभागी अधिकांश नेताले स्वीकार गर्न नसकिने धारणा राखेपछि प्रस्ताव अघि बढ्न सकेन। त्यसपछि बैठकले अध्यक्ष ओलीलाई सम्बन्धित नेताहरूसँग परामर्श गरेर मात्रै प्रस्ताव पुनः पेस गर्ने जिम्मेवारी दिएको छ।

बैठकपछि अध्यक्ष ओली र महासचिव पोखरेलबीच संवादमा समेत असहजता देखिएको छ। बैठकको अध्यक्षता, सञ्चालन र प्रस्ताव प्रस्तुत गर्ने काम अध्यक्ष ओलीले एक्लै गरेको तथा आफूलाई दिइएको स्थानसमेत परिवर्तन गरिएको विषयमा महासचिव पोखरेल असन्तुष्ट रहेको स्रोतको दाबी छ।

बैठक सकिएपछि ओलीले पोखरेललाई पटकपटक फोन गरे पनि उनले तत्काल प्रतिक्रिया नदिएको स्रोतले जनाएको छ । त्यसपछि ओलीले अर्का नेता विष्णु रिमाललाई पोखरेललाई लिएर भक्तपुरको गुण्डुस्थित आफ्नो निवास आउन आग्रह गरेका थिए।

रिमाल पोखरेलको निवास पुगेपछि लामो आग्रह र छलफल भएको जनाइएको छ। त्यसपछि पोखरेल रिमालसँगै ओली निवास गुण्डु पुगेका थिए।

ओलीको सचिवालयका एक सदस्यका अनुसार अध्यक्ष ओली र महासचिव पोखरेलबीच मध्यरातसम्म छलफल भएको जनाएको छ। छलफलमा आगामी बैठकलाई विधिसम्मत रूपमा सञ्चालन गर्ने र पार्टीका विभिन्न जिम्मेवारी बाँडफाँटसम्बन्धी निर्णयमा सहमति खोज्ने विषयमा कुराकानी भएको थियो ।

एमालेभित्र केन्द्रीय सदस्य मनोनयनदेखि पोलिटब्युरो तथा विभागीय जिम्मेवारी बाँडफाँटसम्मका विषयमा देखिएको असहमतिले पार्टीको आन्तरिक निर्णय प्रक्रियामा चुनौती थपेको देखिएको छ।

प्रकाशित मिति: २०८३ आश्विन २४, शनिवार ०८:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको