बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान



काठमाण्डौं, असोज २६ । गृहमन्त्री सुधन गुरुङ बिमस्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी हुन सोमबार भारतको नयाँदिल्ली प्रस्थान गरेका छन्। गृहमन्त्रीको जिम्मेवारी सम्हालेपछि उनको यो पहिलो औपचारिक विदेश भ्रमण हो।

गुरुङ दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत प्रस्थान गरेका हुन्। नयाँदिल्लीमा मंगलबार हुने बैठकमा बिमस्टेकका सातवटै सदस्य राष्ट्रका आन्तरिक सुरक्षा हेर्ने मन्त्री सहभागी हुनेछन्। बैठकमा गृहमन्त्री गुरुङले सम्बोधन गर्ने कार्यक्रम छ।

सन् २०१८ मा काठमाडौंमा सम्पन्न चौथो बिमस्टेक शिखर सम्मेलनले सुरक्षा सहकार्यका लागि उच्चस्तरीय संयन्त्र स्थापना गर्ने अवधारणा अघि सारेको थियो। उक्त संयन्त्रअन्तर्गत पहिलो गृहमन्त्रीस्तरीय बैठक भारतमा आयोजना हुन लागेको हो।

बैठकमा लागुऔषध ओसारपसार, मानव बेचबिखन, सम्पत्ति शुद्धीकरण, आतंकवादी गतिविधिमा वित्तीय लगानी, आतंकवाद, साइबर अपराध तथा विपद्जन्य सुरक्षाका विषयमा छलफल हुनेछ। सदस्य राष्ट्रबीच अन्तरदेशीय अपराध नियन्त्रण र क्षेत्रीय सुरक्षा सहकार्य सुदृढ बनाउने विषय पनि बैठकको कार्यसूचीमा छ।

नेपालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको प्राकृतिक विपद्को जोखिम न्यूनीकरण, पूर्वसूचना प्रणालीको सुदृढीकरण तथा उद्धार र राहतमा क्षेत्रीय सहकार्य विस्तारलाई प्राथमिकतामा राख्ने जनाएको छ।

बैठकका क्रममा सुरक्षा सहकार्यसम्बन्धी विभिन्न दस्तावेज पारित गर्नुका साथै घोषणापत्र जारी गर्ने कार्यक्रमसमेत रहेको छ। गृहमन्त्री गुरुङले बैठकमा सहभागी सदस्य राष्ट्रका समकक्षीसँग द्विपक्षीय वार्ता गर्ने कार्यसूची पनि छ।

बिमस्टेक सचिवालयका अनुसार सदस्य राष्ट्रका गृहमन्त्रीमध्ये गुरुङ सबैभन्दा कम उमेरका मन्त्री हुन्। बैठकमा सहभागी भएपछि उनी असोज २८ गते बुधबार स्वदेश फर्किने कार्यक्रम छ।

प्रकाशित मिति: २०८३ आश्विन २६, सोमवार १४:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको