काठमाण्डौ, असोज २६ । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानमा प्रविधिको प्रभावकारी प्रयोग गर्न प्रहरी निरीक्षकहरूलाई निर्देशन दिएका छन्।
सोमबार काठमाडौंको महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा प्रहरी निरीक्षक आधारभूत तालिमको १८४औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले प्रविधिको प्रयोगले अपराध अनुसन्धान र नियन्त्रणलाई प्रभावकारी बनाउन सकिने बताए।
प्रधानमन्त्री शाहले प्रविधिको विकाससँगै अपराधका स्वरूप परिवर्तन भइरहेकाले प्रहरीको अनुसन्धान पद्धति र कार्यक्षमता पनि समयअनुसार विकास गर्नुपर्नेमा जोड दिए। उनले अनुसन्धानलाई परिणाममुखी बनाउन आवश्यक स्रोतसाधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताए।
उनले प्रहरी अधिकारीलाई नैतिकता, निष्ठा, इमानदारी र अनुशासनलाई प्राथमिकता दिँदै संविधान तथा प्रचलित कानुनअनुसार जिम्मेवारी निर्वाह गर्न आग्रह गरे।
शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान गर्ने र नागरिकको अधिकार रक्षा गर्ने जिम्मेवारी निर्वाह गर्दा कुनै पनि अनुचित दबाब वा प्रभावमा नपर्न उनले प्रहरी निरीक्षकहरूलाई निर्देशन दिए।
प्रहरीको व्यवहार र कार्यशैलीले नागरिकको विश्वास बढाउनुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री शाहले भेदभावरहित, निष्पक्ष र जवाफदेही सेवा प्रवाह गर्नुपर्ने बताए।
तालिम पूरा गरेका प्रहरी निरीक्षकलाई प्रशिक्षणबाट प्राप्त ज्ञान र सीप कार्यक्षेत्रमा प्रयोग गर्न आग्रह गर्दै उनले व्यावसायिक दक्षता, सहकार्य र जिम्मेवारीबोधलाई निरन्तरता दिनुपर्ने बताए।
प्रधानमन्त्री शाहले दीक्षित प्रहरी निरीक्षकहरूलाई बधाई दिँदै नागरिकप्रतिको उत्तरदायित्व र पेसागत मर्यादा कायम राखेर काम गर्न शुभकामना व्यक्त गरे।




