जनकपुरधाम, असोज २७ । प्रदेश अधिकार र संघीयता कार्यान्वयनका विषयमा साझा धारणा बनाउन आजदेखि कोशी प्रदेशको राजधानी विराटनगरमा मुख्यमन्त्री सम्मेलन सुरु हुँदैछ। सम्मेलनमा मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवसहित विभिन्न प्रदेशका प्रतिनिधि सहभागी हुँदैछन्।
कोशी प्रदेश सरकारको आयोजनामा हुने दुईदिने सम्मेलनमा संघीयता कार्यान्वयनका संवैधानिक तथा प्रशासनिक जटिलता, प्रदेशको अधिकार र वित्तीय स्रोत बाँडफाँटबारे छलफल हुनेछ।
सम्मेलनमा मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका मुख्यमन्त्री सहभागी हुने भएका छन्। सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टको सहभागिता भने बजेटसम्बन्धी विवादका कारण अनिश्चित रहेको आयोजकले जनाएको छ।
सम्मेलनमा मुख्यमन्त्रीसँगै प्रमुख सचिव, प्रदेश योजना आयोगका उपाध्यक्ष र मुख्यन्यायाधिवक्तासहितका प्रतिनिधि सहभागी हुनेछन्।
छलफलबाट प्रदेशका साझा माग र प्रतिबद्धता समेटिएको ‘विराटनगर घोषणापत्र’ जारी गर्ने तयारी छ। घोषणापत्रमार्फत संघीय सरकारसँग प्रदेश अधिकार सुनिश्चित गर्न र वित्तीय स्रोतको न्यायोचित बाँडफाँट गर्न सामूहिक आवाज उठाउने लक्ष्य राखिएको छ।
सम्मेलनमा प्रदेशहरूबीच कानुन निर्माणमा एकरूपता कायम गर्ने र असल अभ्यास आदानप्रदान गर्ने विषयमा समेत छलफल हुनेछ।



