जनकपुरधाम, असोज २७ । जनकपुरधाममा दसैँको रमझम देखिन थालेको छ । दशै अवधीमा माता दुर्गाको विभिन्न रुपमा पुजाआर्चा गर्ने धार्मिक परम्परा अनुसार श्रद्धालुहरु विहानै देखी जनकपुरधामका शक्तिपीठ एवं दुर्गा मन्दिरमा पुग्ने गरेका छन । नवरात्रको अवसरमा यहाँका विभिन्न दुर्गा मन्दिर तथा शक्तिपीठमा बिहानैदेखि पूजा आराधना र दर्शन गर्न आउने श्रद्धालुको घुइँचो लागेको छ।
जनकपुरधामस्थित राजदेवी मन्दिर, अमरखाना मन्दिर, फुलेश्वरी मन्दिर, सोनासती मन्दिर, विद्यापति चोकस्थित दुर्गा मन्दिर र रामानन्द चोकस्थित मन्दिरमा भक्तजनले देवी दुर्गाको पूजा आराधना गरिरहेका छन्।
नवरात्रमा देवी दुर्गाको पूजा गर्दा शक्ति, सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वासका साथ श्रद्धालुहरू बिहानैदेखि मन्दिर पुग्ने गरेका छन्। मन्दिरहरूमा पूजापाठ र दर्शनका लागि भक्तजनको उपस्थिति बढेसँगै जनकपुरधामको धार्मिक वातावरण थप उत्साहपूर्ण बनेको छ।
दसैँ नजिकिएसँगै जनकपुरधामका बजारमा पनि चहलपहल बढेको छ। पूजासामग्री, फलफूल, मिठाई र नयाँ कपडा किनमेल गर्ने ग्राहकको गतिविधिले बजारमा पर्वको रौनक थपिएको छ।
दसैँलाई धार्मिक आस्था, पारिवारिक मिलन र सामाजिक सद्भावको पर्वका रूपमा मनाइन्छ। नवरात्रभरि मन्दिरहरूमा विशेष पूजा आराधना हुने भएकाले आगामी दिनमा पनि श्रद्धालुको चहलपहल बढ्ने अपेक्षा गरिएको छ।



