नेपाल मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित



काठमाडौं, असोज २८ । नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ। महासभामा खसेको १८० मतमध्ये नेपालले १७३ मत प्राप्त गरेको छ।

न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको निर्वाचनमा एसिया–प्रशान्त क्षेत्रबाट निर्वाचित देशमध्ये नेपालले सर्वाधिक मत पाएको हो।

निर्वाचनपछि संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले समर्थन गर्ने सदस्य राष्ट्रप्रति आभार व्यक्त गरेको छ। नेपालले मानवअधिकारको संरक्षण, समावेशिता, सामाजिक न्याय र अन्तर्राष्ट्रिय कानुनको सम्मानका लागि सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।

नेपाल यसअघि सन् २०१८–२०२० र २०२१–२०२३ मा परिषद्को सदस्य रहिसकेको छ। नयाँ कार्यकाल सन् २०२७ जनवरी १ देखि सुरु हुनेछ।

सन् २००६ मा स्थापित संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्मा ४७ सदस्य राष्ट्र रहने व्यवस्था छ। परिषद्ले विश्वभर मानवअधिकारको संरक्षण तथा प्रवर्द्धन, मानवअधिकार उल्लंघनसम्बन्धी विषयमा छलफल र सदस्य राष्ट्रहरूको मानवअधिकार अवस्थाको समीक्षा गर्ने काम गर्छ।

प्रकाशित मिति: २०८३ आश्विन २८, बुधबार ०८:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको