इजरायलमा आम निर्वाचन, नेतान्याहुलाई सत्ता जोगाउने चुनौती



एजेन्सी, कात्तिक १० । इजरायलमा मंगलबार आम निर्वाचन हुँदैछ। निर्वाचनको परिणामले प्रधानमन्त्री बेन्जामिन नेतान्याहु सत्तामा कायम रहने वा विपक्षी दलहरूको नेतृत्वमा नयाँ सरकार गठन हुने भन्ने तय गर्नेछ।

सन् १९९६ देखि विभिन्न कार्यकालमा गरी १७ वर्षभन्दा बढी समय प्रधानमन्त्री बनेका नेतान्याहु यसपटक पनि सत्तामा रहने प्रयासमा छन्। उनका समर्थकले उनलाई सुरक्षा मामिलामा अनुभवी नेता मान्दै आएका छन्। तर सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणका बेला सुरक्षा व्यवस्थामा भएको कमजोरी र उनीमाथि लागेका भ्रष्टाचारसम्बन्धी आरोपले उनको नेतृत्वमाथि प्रश्न उठ्दै आएको छ।

गाजामा युद्धका क्रममा भएका कथित युद्ध अपराधसम्बन्धी आरोपमा अन्तर्राष्ट्रिय फौजदारी अदालत ९आईसीसी० ले नेतान्याहुविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

विपक्षीबाट कडा चुनौती

यस निर्वाचनमा पूर्वसैनिक प्रमुख गादी आइजेनकोट आफ्नो मध्यमार्गी पार्टी ‘याशर’ मार्फत नेतान्याहुलाई चुनौती दिँदैछन्। त्यस्तै, पूर्वप्रधानमन्त्री नफ्ताली बेनेट र पूर्वप्रधानमन्त्री यायर लापिड पनि नेतान्याहुविरोधी राजनीतिक समीकरणमा सक्रिय छन्। पूर्वरक्षामन्त्री एविग्डोर लिबरम्यान पनि उनका प्रमुख आलोचक हुन्।

अर्कोतर्फ, नेतान्याहुको गठबन्धनलाई अर्थमन्त्री बेजालेल स्मोट्रिच र राष्ट्रिय सुरक्षा मन्त्री इतामार बेन–गभिरजस्ता दक्षिणपन्थी नेताहरूको समर्थन छ। प्यालेस्टिनीहरूप्रतिको कठोर नीति र पश्चिम किनारमा इजरायली बस्ती विस्तारको समर्थनका कारण उनीहरू अन्तर्राष्ट्रिय आलोचनामा पर्दै आएका छन्।

गठबन्धनको अंकगणित निर्णायक

इजरायलको संसद् नेसेटमा १२० सिट छन्। सरकार गठन गर्न कम्तीमा ६१ सांसदको समर्थन आवश्यक पर्छ। मतदाताले राजनीतिक दललाई मत दिने र प्राप्त मतका आधारमा सिट बाँडफाँट हुने भएकाले कुनै एक दलले बहुमत नल्याए गठबन्धन बनाउनुपर्ने हुन्छ।

त्यसैले निर्वाचनमा दलहरूले प्राप्त गर्ने सिटसँगै विपक्षीबीचको सहकार्य र साना दलहरूको समर्थनले पनि आगामी सरकारको स्वरूप निर्धारण गर्नेछ। निर्वाचनको परिणाम नेतान्याहुको राजनीतिक भविष्यका लागि निर्णायक मानिएको छ।

प्रकाशित मिति: २०८३ कार्तिक १०, मंगलवार ०८:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको