स्वास्थ्य चौकी उद्घाटनको विषयमा विवाद हुँदा प्रहरीले चलायो गोली, एक युवक घाइते



बारा, कात्तिक १४ । बाराको फेटा गाउँपालिकामा स्वास्थ्य चौकी उद्घाटनको विषयलाई लिएर दुई पक्षबीच विवाद र झडप भएपछि प्रहरीले गोली चलाएको छ। प्रहरीको गोली लागेर एक युवक घाइते भएका छन्।

शनिबार बिहान गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीसहितको टोलीले वडा नम्बर–३ स्थित स्वास्थ्य चौकी उद्घाटन गर्न खोजेपछि अर्को पक्षले विरोध गरेको थियो। विरोधका क्रममा सुरु भएको भनाभनले उग्ररूप लिएपछि दुई पक्षबीच झडप भएको हो।

स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरे पनि प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गर्न थालेपछि हवाई फायर गरिएको मधेस प्रदेश प्रहरी प्रमुख डीआईजी ओमप्रसाद अधिकारीले जानकारी दिए।

प्रहरीका अनुसार घटनामा एक युवक गोली लागेर घाइते भएका छन्। उनलाई कसको गोली लागेको हो भन्नेबारे यकिन हुन सकेको छैन। घाइते युवकको वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ। उनको पहिचानसमेत खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

घटनापछि फेटा गाउँपालिका–३ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय नजिकै हुने भनिएको स्वास्थ्य चौकी उद्घाटन कार्यक्रम प्रभावित भएको छ।

प्रकाशित मिति: २०८३ कार्तिक १४, शनिवार १३:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको