काठमाडौँ मंसरि ५ । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणअघि प्रमुख प्रतिपक्षी दल, अन्य राजनीतिक दल तथा विषयविज्ञसँग छलफल नगरेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरेको छ।
कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले विज्ञप्तिमार्फत राष्ट्रिय महत्त्वका विषयमा विदेश भ्रमण गर्नुअघि साझा धारणा बनाउने लोकतान्त्रिक अभ्यासलाई सरकारले बेवास्ता गरेको बताएका छन्।
कांग्रेसले भारतसँगको सम्बन्ध र द्विपक्षीय सहकार्यका विषयमा सरकारलाई सुझाव दिने उद्देश्यले विषयविज्ञहरूसँग आन्तरिक छलफलसमेत गरेको थियो। उक्त छलफलमा जलवायु परिवर्तन, पर्यटन, व्यापार, ऊर्जा, हवाई सम्पर्क, सीमा व्यवस्थापन तथा भारतमा कार्यरत नेपाली श्रमिकका समस्यालगायत विषय उठाइएको थियो।
शर्माले प्रधानमन्त्रीको भ्रमण सफल र उपलब्धिमूलक होस् भन्ने शुभकामना दिँदै राष्ट्रिय हितका विषयमा व्यापक परामर्श र साझा समझदारी आवश्यक रहेको बताएका छन्। उनका अनुसार प्रधानमन्त्रीले भारत भ्रमण गर्दा कुनै एक दलको प्रतिनिधित्व नभई समग्र राष्ट्रको प्रतिनिधित्व गर्ने भएकाले राष्ट्रिय सरोकारका विषयमा सबै पक्षको सहभागिता महत्त्वपूर्ण हुन्छ।
कांग्रेसले भ्रमण क्षणिक लोकप्रियता र प्रचारमा सीमित नभई विगतका प्रतिबद्धता कार्यान्वयन, विद्यमान समस्याको समाधान र दीर्घकालीन सहकार्यको आधार निर्माणमा केन्द्रित हुनुपर्ने जनाएको छ। त्यस्तै, भ्रमणको वास्तविक सफलता औपचारिक स्वागत र संयुक्त वक्तव्यबाट नभई नेपाल तथा नेपाली नागरिकले प्राप्त गर्ने ठोस उपलब्धिबाट मापन हुनुपर्ने कांग्रेसको धारणा छ।



