सर्लाही मंसरि ५ । सर्लाहीको हरिपुर्वा नगरपालिका–९, बसन्तपुरमा इँटा प्रहारबाट एक वृद्धको मृत्यु भएको छ भने उनकी श्रीमती घाइते भएकी छन्।
प्रहरीका अनुसार गाँजा किनबेचको विषयमा भएको विवादपछि गाउँकै एक युवकले वृद्ध दम्पतीमाथि आक्रमण गरेका थिए। कात्तिक २७ गते राति घरमै सुतिरहेका ७४ वर्षीय सुकदेव साह तेली र उनकी ७३ वर्षीया श्रीमती जिपसी देवीमाथि इँटाको टुक्राले प्रहार गरिएको थियो।
भोलिपल्ट बिहान अबेरसम्म दम्पती नउठेपछि छोरा हेर्न जाँदा दुवैलाई रगताम्मे अवस्थामा फेला पारेका थिए। गम्भीर घाइते सुकदेवको उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ। जिपसी देवीको उपचार भइरहेको छ। घटनाको अनुसन्धानपछि प्रहरीले बसन्तपुरकै शङ्करकुमार यादवलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार उनले सुतिरहेका वृद्ध दम्पतीको टाउको तथा अनुहारमा इँटाको टुक्राले प्रहार गरेको बयान दिएका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डीएसपी वेदप्रसाद गौतमका अनुसार गाँजा सेवनकर्ता रहेका शङ्करले गाँजा किनबेचकै क्रममा भएको विवादलाई लिएर वृद्धमाथि आक्रमण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घटनापछि फरार भएका शङ्करलाई घरमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीविरुद्ध ज्यान मार्ने उद्योग तथा ज्यानसम्बन्धी कसुरमा कारबाही प्रक्रिया अघि बढाइएको छ।



