गर्भवती महिलाको मृत्यु भएपछि बरहथवा नगर अस्पतालमा आगजनी र तोडफोड



सर्लाही मंसिर ७ । उपचारका क्रममा गर्भवती महिलाको मृत्यु भएपछि सर्लाहीको बरहथवा नगर अस्पतालमा आइतबार राति तनाव उत्पन्न भएको छ । चिकित्सकको लापरवाहीका कारण महिलाको मृत्यु भएको आरोप लगाउँदै मृतकका आफन्त तथा स्थानीयवासीले अस्पतालमा तोडफोड र आगजनी गरेका छन् ।

बरहथवा नगरपालिका–५, हात्तीडण्डाका रुपेश महरा चमार की २२ वर्षीया श्रीमती सीमा देवी रामको आइतबार राति मृत्यु भएको हो । घटनापछि आक्रोशित आफन्तले अस्पताल परिसरमा तोडफोड तथा आगजनी गरेका थिए । यता, अस्पताल प्रशासनले भने महिलाको मृत्यु नगर अस्पतालमा नभई थप उपचारका लागि वीरगन्ज रेफर गरिएपछि भएको दाबी गरेको छ । अस्पतालका अनुसार बिरामीको अवस्था गम्भीर भएपछि उनलाई थप उपचारका लागि वीरगन्ज पठाइएको थियो । तर, परिवारका सदस्यले रौतहटको चन्द्रनिगाहपुर पुर्‍याएर परीक्षण गराउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

महिलाको मृत्युको खबर फैलिएपछि आक्रोशित आफन्त र स्थानीयवासी अस्पताल पुगेका थिए । उनीहरूको प्रदर्शनका क्रममा बरहथवा नगरपालिकामातहत सञ्चालित नगर अस्पतालको आकस्मिक कक्षलगायत विभिन्न संरचनामा क्षति पुगेको छ । प्रहरीको प्रारम्भिक विवरणअनुसार घटनाबाट करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

सर्लाही प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार घटनामा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा बरहथवा नगरपालिका–५ का ३३ वर्षीय राजेशकुमार महरा र २१ वर्षीय रोहन महरा तथा रौतहटको गुजरा नगरपालिका–९, सिमरा निवासी ४२ वर्षीया भुसेनी महरा र उहाँका २० वर्षीय छोरा राजन राम रहेका छन् ।

पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय बरहथवाको हिरासतमा राखिएको डिएसपी गौतमले जानकारी दिनुभयो । घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको उहाँले बताउनुभयो । घटनापछि नगर अस्पताल परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । अस्पताल क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

बरहथवा नगरपालिकाकी प्रमुख कल्पनाकुमारी कटुवालले स्थिति सामान्य बनाउन तथा घटनाको छानबिनका लागि चिकित्सक, मृतकका आफन्त र अन्य सरोकारवालासँग छलफल भइरहेको जानकारी दिनुभयो ।

यसैबीच, नगर अस्पताल बरहथवाले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको कुटपिट र उपचार सेवामा अवरोध पुर्‍याइएको घटनाप्रति आपत्ति जनाएको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा। रितेशकुमार कर्णले सोमबार जारी गरेको विज्ञप्तिमा गर्भवती महिलाको स्वास्थ्य परीक्षण गर्दा उनको श्वासप्रश्वास अत्यन्त कमजोर हुनुका साथै मुटुको धड्कनसमेत कम रहेको उल्लेख गरिएको छ ।

बिरामीको अवस्था गम्भीर देखिएपछि चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली तत्काल उपचारमा खटिएको र कृत्रिम श्वासनली राख्नेलगायत जीवनरक्षाका प्रयास गरिएको विज्ञप्तिमा जनाइएको छ । अस्पताल प्रशासनका अनुसार उपचारका क्रममा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपिट हुनुका साथै अस्पतालमा तोडफोडसमेत गरिएको थियो ।

प्रकाशित मिति: २०८३ मंसिर ७, सोमवार १३:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको