७ मंसिर, नयाँदिल्ली । प्रधानमन्त्री वालेन्द्र बालेन शाहको भारत भ्रमणका क्रममा भारतले नेपाललाई करिब २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शाहसँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा उक्त सहयोगको घोषणा गर्नुभएको हो ।
घोषित रकममध्ये कति सहुलियतपूर्ण ऋण लाइन अफ क्रेडिट र कति अनुदान रहने भन्नेबारे भने औपचारिक विवरण सार्वजनिक गरिएको छैन । तर, स्रोतका अनुसार सहयोगमध्ये १ खर्ब भारु ऋण र ५० अर्ब भारु अनुदान रहनेछ ।
नेपालले भारतसँग कुल २ खर्ब भारु आर्थिक सहयोग माग गरेको थियो । त्यसमा १ खर्ब भारु सहुलियतपूर्ण ऋण र १ खर्ब भारु अनुदानका रूपमा उपलब्ध गराउन प्रस्ताव गरिएको थियो । स्रोतका अनुसार भारतले ऋणतर्फ नेपालको प्रस्ताव स्वीकार गरे पनि अनुदान रकम भने आधा घटाएको छ ।
नेपालले प्रस्ताव गरेको १ खर्ब भारु अनुदानमध्ये ५० अर्ब भारु रसुवामा बाढीपछि पुनर्निर्माणका लागि र बाँकी ५० अर्ब भारु बुटवल–पोखरा एक्सप्रेस वे निर्माणका लागि माग गरेको थियो । तर, कुन परियोजनामा कति रकम खर्च गरिने भन्ने विषयमा भारतीय प्रधानमन्त्री मोदीले खुलाउनुभएको छैन ।
विगतको ऋण सहयोग पूर्ण रूपमा उपयोग हुन सकेन
भारतले नेपालका लागि यसअघि चारवटा लाइन अफ क्रेडिट घोषणा गरिसकेको छ । तर, विगतमा घोषणा गरिएका ऋण सहयोगको ठूलो हिस्सा उपयोग हुन नसकेको अवस्था छ ।
नेपालले सन् २०२४ अर्थात् २०८१ सालमा भारतले प्रतिबद्धता जनाएको ९० करोड अमेरिकी डलर बराबरको लाइन अफ क्रेडिट रद्द गरेको थियो ।
यसअघि सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा १ अर्ब अमेरिकी डलर आर्थिक सहयोग घोषणा गर्नुभएको थियो । सन् २०१५ मा नेपालमा विनाशकारी भूकम्प गएपछि उक्त सहयोगलाई भूकम्पपछिको पुनर्निर्माणमा उपयोग गर्ने गरी पुनर्संरचना गरिएको थियो ।
त्यसअनुसार १ अर्ब डलरमध्ये २५ करोड डलर अनुदान र ७५ करोड डलर सहुलियतपूर्ण ऋणका रूपमा छुट्याइएको थियो । अनुदानतर्फको २५ करोड डलर भूकम्पपछिको पुनर्निर्माणमा खर्च भए पनि ऋणतर्फको ७५ करोड डलरमध्ये करिब ५ करोड डलर मात्रै उपयोग हुन सकेको थियो ।
अर्थ मन्त्रालय स्रोतका अनुसार भारतको लाइन अफ क्रेडिटबाट निर्माण हुने आयोजनामा ७५ प्रतिशत वस्तु तथा सामग्री भारतीय नै हुनुपर्ने प्रावधानले ऋण उपयोगमा कठिनाइ भएको थियो । यही कारण भारतले घोषणा गरेको ऋणमध्ये करिब ८५ अर्ब भारु उपयोग हुन नसकेको स्रोतको भनाइ छ ।
नयाँ ऋण सहयोगका लागि नेपालको प्रस्ताव
अर्थ मन्त्रालय स्रोतका अनुसार यसअघि प्रतिबद्धता गरिएको ९० करोड अमेरिकी डलर बराबरको ऋण उपयोग हुन नसकेपछि नेपालले सन् २०२४ मा उक्त लाइन अफ क्रेडिट रद्द गरेको थियो ।
त्यसपछि करिब १० करोड अमेरिकी डलर थप गरी १ खर्ब भारु बराबरको नयाँ लाइन अफ क्रेडिट घोषणा गर्न नेपालले भारतसँग आग्रह गरेको थियो । यसमा भारत सहमत भएको स्रोतको भनाइ छ ।
तर, अनुदानतर्फ नेपालले माग गरेको १ खर्ब भारुको सट्टा ५० अर्ब भारु मात्रै उपलब्ध गराउने गरी सहमति भएको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार, भारतले पहिल्यै प्रतिबद्धता गरेको ९० करोड डलर खर्च हुन नसकेपछि नेपालले सन् २०२४ मा रद्द गरेको थियो । त्यसमा १० करोड डलर हाराहारी थपेर १ खर्ब भारुको एलओसी घोषणा होस् भन्ने हाम्रो अनुरोध थियो । त्यसमा भारत सहमत भएको छ । तर, अनुदान रकम भने घटाइएको छ ।
यद्यपि, नयाँ आर्थिक सहयोगको विस्तृत कार्ययोजना, परियोजनागत बाँडफाँट र कार्यान्वयन प्रक्रियाबारे दुवै देशबाट थप विवरण आउन बाँकी छ ।



