प्रचण्ड सर्लाहीमा, विहानैबाट कार्यकर्ता भेटघाटमा व्यस्त



मलंगवा, फागुन २३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज बिहानैबाट सर्लाहीमा कार्यकर्तासँगको भेटघाटमा ब्यस्त रहेका छन् ।

‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’ का क्रममा गएसाँझ हुलाकी सडक भएर सर्लाही प्रवेश गरेका प्रचण्डसहित पार्टीका शीर्ष नेताहरुलाई कार्यकर्ताले भव्य स्वागत गरेका थिए । हिजो बेलुका पर्सा गाउँपालिकाको शितलपुर, सङ्ग्रामपुर र कविलासीमा प्रचण्डले स्थानीय नेता, कार्यकर्तासँग भेट गरे ।

राति पर्सा गाउँपालिका–४, कविलासीस्थित पार्टीको तर्फबाट गाउँपालिका उपाध्यक्षका उम्मेदवार किरणदेवी यादवको घरमा बास बसेका प्रचण्ड आज बिहान अन्य नेता र पार्टीका कार्यकर्तासँगै पर्सा गाउँपालिका क्षेत्रमा पर्ने हुलाकी सडकमा मर्निङवाकमा सहभागी भएका छन् । त्यसपश्चात पार्टीका नेता, कार्यकर्तासँगको भेटघाट कार्यक्रम सुरु भइसकेको नेकपा माओवादी केन्द्र सर्लाहीका इन्चार्ज अच्यूतम काफ्लेले उज्यालो अभियानसँग बताए ।

‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’ अन्तर्गत सर्लाहीमा आज एक दर्जन भन्दा बढी स्थानमा सभा, कार्यकर्ता भेटघाटजस्ता कार्यक्रम आयोजना गरिएको जिल्ला इन्चार्ज काफ्लेले बताए । उनका अनुसार नाढीमन ताल, प्रिपा, ब्रह्मपुरी, मलङ्गवा, खुटौना, कौडेना, गोडैता, गडहीया, बलरा, रामनगर, धनकौललगायत स्थानमा कार्यक्रम आयोजना गरिएको छ ।

सर्लाहीको कार्यक्रम सकेर अध्यक्षसहितका नेताहरु आजै साँझ रौतहट प्रस्थान गर्ने कार्यक्रम तय भएको जिल्ला इन्चार्ज काफ्लेले बताए ।

माओवादी केन्द्रको अभियानलाई लक्षित गरी सर्लाहीको पूर्व–पश्चिम हुलाकी सडकमा सुरक्षा व्यवस्था चुस्त पारिएको छ । कार्यक्रमस्थलहरुमा ठूलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको छ ।

माओवादी केन्द्रले पूर्वको झापाबाट फागुन १२ गतेदेखि सुरु गरेको ‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’ हुलाकी सडक हुँदै अहिले सर्लाही आइपुुगेको हो ।

प्रकाशित मिति: २०८१ फाल्गुन २३, शुक्रबार ०८:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको