सिरहा, बैशाख २५ । नेपाल प्रहरीको फरार सूचिमा रहेका सिरहाका एक माओवादीको स्थानीय नेताले मधेश प्रदेशका डिआइजी उमा चतुर्वेदी संगैको फोटो सामाजिक सञ्जालमा पोष्ट गर्दा सिरहामा खैलावैला मचेको छ ।
ठगी तथा विश्वासघात मुद्दामा फरार रहेका नेकपा माओवादी केन्द्रका पूर्व जिल्ला सदस्य विजयकुमार गुप्ताले सामाजिक सञ्जाल फेसवुकमा मधेश प्रदेशका डिआइजी चतुर्वेदीलाई शुभकामना दिँदै आफू सहितको फोटो पोष्ट गरेका छन् ।
गुप्ताविरुद्ध ठगी तथा विश्वासघात मुद्दामा पक्राउ पुर्जी जारी भएको महिनौं बितिसक्दा पनि प्रहरीले उनलाई पक्राउ गरेको छैन् । लहान नगरपालिका–७ निवासी गुप्तामाथि इञ्जिनियर विनित यादवले २०८० साल चैत २१ गते ठगी र विश्वासघात भएको दाबी गर्दै जिल्ला प्रहरी कार्यालय सिरहामा उजुरी दिएका थिए । उजुरीपछि चैत २२ मा मुद्दा दर्ता भए पनि गुप्ता अझै फरार छन्।
पीडित यादवका अनुसार उनले गुप्तासँग व्यक्तिगत चिनाजानीका आधारमा २ लाख ९० हजार रुपैयाँ प्रदान गरेका थिए । गुप्ताले विभिन्न पालिकाको आईटी प्रोजेक्ट मिलाइदिने प्रलोभन देखाएर रकम लिएको यादवको भनाइ छ । “गुप्ताले मेरो पैसा लिएर पनि काम नगरी ठगी गरे, यादवले भने, “अब न्यायका लागि म कहाँ जाउ ?”
उनका अनुसार उनले २०७६ साल माघ १ गते मेगा बैंकमार्फत १ लाख ५० हजार रुपैयाँ, माघ २ गते नगद ५० हजार र पछि वेबसाइट सम्बन्धी कार्यको लागि ९० हजार थप रकम बुझाएका थिए ।
गुप्ताले हालै मधेश प्रदेशका डीआईजी उमा प्रशाद चतुर्वेदीसँग खिचिएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेर आफ्नो पहुँच देखाउने प्रयाससमेत गरेको यादवको आरोप छ । यसले उनलाई प्रहरीको समेत संरक्षण रहेको आशंका बलियो बनाएको स्थानीयहरुको आशंका छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी तथा प्रवक्ता बिरेन्द्र पासवानले भने, “मुद्दा दर्ता भएदेखि नै हामी खोजीमा छौं। चाँडै पक्राउ गरी कानुनअनुसार कारबाही गरिनेछ।”
तर पीडित यादवको गुनासो छ— “गुप्ताजस्ता स्थानीय नेताहरूलाई ठूला नेताको संरक्षण छ, त्यसैले प्रहरीले आलटाल गरिरहेको छ। हामी त सामान्य नागरिक, न्यायका लागि अब कसलाई गुहार्ने ?”
गुप्ता पछिल्लो समय दोहोरो नागरिकता प्रकरणमा पनि विवादित भएका छन् । स्थानीय स्रोतका अनुसार उनी विभिन्न सरकारी कार्यालयमा प्रहरीसँगको साठगाँठमा बिचौलियाको रूपमा समेत क्रियाशील छन्।
यस प्रकरणले राजनीतिक पहुँचको आडमा ठगी गर्नेहरूको हौसला बढिरहेको र प्रहरी प्रशासन मौन रहेको गम्भीर प्रश्न खडा गरेको छ।






