राजविराज, बैशाख २८ । राजविराज नगरपालिका ५ स्थित छठ पोखरीको सौन्दर्यकरण तथा नजिकै रहेको भलुवाही खोलाको तटबन्ध निर्माण कार्य सुरु भएको छ ।
आइतबार प्रतिनिधिसभा सदस्य रन्जु ठाकुरले धार्मिक एवं सास्कृतिक महत्वको उक्त पोखरीको सौन्दर्यकरण, छठ पूजाघाट निर्माण तथा नजिकै रहेको भलुवाही खोलाको तटबन्ध निर्माण कार्यको शिलान्यास गरेसँगै बस्ती र पोखरी सुरक्षित हुनुका साथै काचुली फेर्न लागेको हो ।
शिलान्याससँगै आइतबार देखी नै उक्त दुबै संरचनाको निर्माण कार्य समेत सुरु भएको छ । सांसद ठाकुरको पहलमा संघीय सरकारको पर्यटन मन्त्रालयबाट २०८१÷८२ मा ९० लाखको बजेट बिनियोजन गराइएपछी उक्र पोखरीको सौन्दर्यकरण र तटबन्ध निर्माणको कार्य अघि बढेको राजविराज नगरपालिकाका योजना अधिकृत मनोज यादवले जानकारी दिए ।
स्थानीय पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालय, शिक्षा समन्वय विकास इकाई कार्यालय तथा सरस्वती टोल निकट अवस्थित उक्त धार्मिक महत्वको पोखरीमा छठघाट र सरसफाईको अभावको साथै नजिकैबाट बग्ने भलुवाही खोलाको कटानका कारण छठपर्व लगायत विभिन्न धार्मिक गतिबिधी गर्न भक्तजन तथा आसपासका बासिन्दालाई समस्या हुँदै आएपछी आफूले यसलाई व्यवस्थित गर्न आवश्वक पहल गरेको सांसद ठाकुरको भनाई छ ।
उनले यस क्षेत्रबाट भलुवाही खोला बग्ने गरेको तथा वर्षायाममा कटान गर्ने गरेकाले बस्ती र पोखरी दुबैलाई बाढीबाट जोगाउन सोही बजेटबाट तटबन्ध निर्माण कार्य समेत गर्न लगाइएको जानकारी दिए । उनले स्थानीयवासीको धेरै दिनदेखीको चाहनालाई पुरा गर्दै हुनलागेको पोखरी सौन्दर्यकरण अन्तरगत चारैतिर पूजाघाट र बगैंचा निर्माण गर्ने योजना रहेको जानकारी समेत दिइन् ।
उनले यस वर्ष उपलब्ध बजेटबाट पोखरीको दुई साइडमा बाँकी रहेको छठघाट निर्माण, सौन्दर्यकरण तथा कटानबाट जोगाउन तटबन्ध लगायतका निर्माण कार्यको थालनी गरेर आगामी आर्थिक वर्षहरुमा उपलब्ध हुने थपबजेटलाई क्रमशः पोखरीको थप सौन्दर्यकरण र सेवा सुविधा बृद्धि लगायतका काममा खर्चिने प्रतिबद्धता समेत जनाइन् ।
उक्त पोखरीमा चारैतिर पूजाघाटको अभाव र वर्षौदेखी वर्षायामका बेलामा भलुवाही खोलाले गर्ने कटान र त्यसबाट हुने क्षति रोक्न थालिएको निर्माण कार्य सम्पन्न भएपछी यस बस्ती र आसपासका सयौं जनता लाभान्वित हुने स्थानीयवासी लक्ष्मण यादवको भनाई छ ।
आगामी जेठ मसान्त भित्रै निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कार्य सुरु भएको नगरपाकिाले जनाएको छ । शिलान्यास समारोहमा राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविन, वडाअध्यक्ष बन्दुलाल दास, नेपाल पत्रकार महासंघका राष्ट्रिय परिषद् सदस्य मनोज माझी, यूवा नेता इर्साद अन्सारी, पार्थो सरकार, संजय झाका ठूलो संख्यामा स्थानीयवासी सहभागि भएका थिए ।






