एजेन्सी, असार १ । इजरायल र इरानबीचको संघर्ष शनिबार अबेर राति सम्म जारी रहेको छ । दुबै देशले पुनः एकपटक एकअर्कामाथि धेरै क्षेप्यास्त्र प्रहार गरेका छन् । इजरायल र इरानबीचको संघर्ष मा दुर्ई देशबीच पछिल्लो ४८ घण्टादेखि दुबै देशले एक अर्कामाथि क्षेप्यास्त्र प्रहार गर्ने क्रमलाई जारी राखेका छन ।
इजरायलले तेहरानस्थित रक्षा मन्त्रालयलाई निशाना बनाएको दाबी गरेको छ। यसबाहेक, तेहरान र बुशेहरमा तेल डिपो र ग्यास रिफाइनरीहरू सहित १५० भन्दा बढी लक्ष्यहरूमा प्रहार गरिएको थियो।
दुई दिनसम्म चलेको लडाईंमा हालसम्म १३८ इरानी मारिएका छन्, जसमा ९ आणविक वैज्ञानिक र २० भन्दा बढी इरानी कमाण्डरहरू छन् । यसबाहेक, ३५० भन्दा बढी घाइते भएका छन् । इरानको राजधानी तेहरान सहित ७ राज्यमा वायु रक्षा प्रणाली सक्रिय गरिएको छ ।
इरानले पनि इजरायलमा १५० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेर बदला लिएको छ । आक्रमणमा ११ इजरायलीको मृत्यु भएको छ भने ३०० भन्दा बढी घाइते भएका छन् । इरानले तीनवटा इजरायली एफ–३५ विमान खसालेको दाबी पनि गरेको छ।






