मधेश प्रदेश सरकारद्वारा ४६ अर्ब ५८ करोडको बजेट प्रस्तुत

२ अर्ब आन्तरिक ऋणबाट उठाइने


जनकपुरधाम, असार १ । मधेश प्रदेश सरकारद्वारा अगामी आर्थिक वर्षका लागि ४६ अर्ब ५८ करोड ३३ लाख ५१ हजारको बजेट प्रस्तुत गरिएको छ ।

मधेश प्रदेश सरकारका अर्थमन्त्री सुनिलकुमार यादवले कुल विनियोजन मध्ये चालु तर्फ १६ अर्ब ७२ करोड ५ लाख १७ हजार अर्थात ३५.८९ प्रतिशत र पूजिगत तर्फ ३० अर्ब २६ करोड २८ लाख ३४ हजार अर्थात ६४.११ प्रतिशत बजेट विनियोजन गरेका हुन ।

अगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षको तुलनामा ६.१३ प्रतिशत बढीले आएको हो ।

अगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये आन्तरिक राजस्वबाट रु ९ अर्ब ५० करोड ८३ लाख , वितिय हस्तान्तरण अनुदान तर्फ वितिय समानीकरण अनुदान बाट ७ अर्ब ७२ करोड १९ लाख तथा सशर्त अनुदान बाट ४ अर्ब २६ करोड १८ लाख ब्यहोर्ने जनाइएको छ ।

त्यसैगरि अन्य स्रोतहरुमा विशेष अनुदानबाट रु ३९ करोड ४५ लाख, समपुरक अनुदानबाट ३५ करोड ८२ लाख गरि जम्मा १२ अर्ब ७३ करोड ६४ लाख , संघीय राजस्व बाँडफाँड बाट १२ अर्ब ३५ करोड ८४ लाख र गत वर्षको नगद मौज्दात बाट १० अर्ब ३८ करोड २ लाख ५१ हजार व्यवस्थापन गर्दा रु २ अर्ब कम पर्ने जनाइएको छ । सो २ अर्ब आन्तरिक ऋणबाट जुटाइने अर्थमन्त्री यादवले प्रस्तुत गरेको बजेट वक्तव्यमा उल्लेख छ ।

बजेटमा विनियोजनमा भौतिक पूर्वाधार मन्त्रालयका लागि १५ अर्ब ८८ करोड ७१ लाख ८५ हजार , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ६ अर्ब ४५ करोड ६१ लाख , उर्जा सिचाई तथा खानेपानी मन्त्रालयका लागि ४ अर्ब ४१ करोड ९९ लाख ९९ हजार विनियोजन गरिएको छ ।

त्यसैगरि शिक्षा तथा संस्कृति मन्त्रालयका लागि ३ अर्ब ५७ करोड ६६ लाख ५५ हजार , उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयका लागि ३ अर्ब ८ करोड ७१ लाख ७४ हजार , भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका लागि २ अर्ब ८३ करोड , वन तथा वातावरण मन्त्रालयका लागि २ अर्ब ३७ करोड ५६ लाख ३८ हजार विनियोजन गरिएको छ ।

मधेश प्रदेश सरकारद्वारा खेलकुद मन्त्रालयका लागि १ अर्ब ६८ करोड ७३ लाख , गृह तथा संचार मन्त्रालयका लागि ६४ करोड ८९ लाख ९७ हजार , श्रम तथा यातायात मन्त्रालयका लागि ५७ करोड १४ लाख ५० हजार विनियोजन गरिएको हो ।

पूर्णपाठ हेर्नुहोस् !

प्रकाशित मिति: २०८२ असार १, आईतवार २०:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको