स्थापित बाम नेता साह माओवादी केन्द्रमा प्रवेश



चितवन, असार ५ । लामो समयदेखि शिक्षा तथा राजनीतिमा सक्रिय नेता तथा नेकपा(एमाले) राष्ट्रिय सल्लाहकार परिषदका केन्द्रिय सदस्य एवं स्थापित बाम नेता भरत प्रसाद साह औपचारिक रूपमा नेकपा(माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।

स्थापित बाम नेता साह बुधबार चितवनमा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’को हातबाट टीका लगाई पार्टी प्रवेश गरेका हुन् ।

बारा जिल्लाको कलैया उपमहानगरपालिका–५ निवासी साहले आफ्नो राजनीतिक जीवनको सुरूवात २०३५ सालमाअखिल(पाँचौं) का बारा जिल्ला अध्यक्षको रूपमा गरेका थिए । त्यसपछि २०३७ र २०३८ सालमा ठाकुर राम कलेजमा दुई कार्यकाल स्ववियु सदस्यमा निर्वाचित भई विद्यार्थी राजनीतिमा सक्रिय सहभागिता जनाएका थिए ।

२०५४ देखि २०५९ साल सम्म एमाले शिक्षक संगठन बारा जिल्ला अध्यक्षका रूपमा नेतृत्व सम्हालेका साह २०६१ सालमा नेपाल शिक्षक युनियन बारा जिल्ला अध्यक्ष र २०७१ सालतिर केन्द्रिय अध्यक्ष बनेका थिए ।

राजनीतिक रूपमा स्थिर र अनुभव सञ्चित नेताका रूपमा चिनिएका साह हालसम्म नेकपा(एमाले) को राष्ट्रिय सल्लाहकार परिषद सदस्यको रूपमा क्रियाशील थिए । पार्टी नेतृत्व केपीशर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले माओवादी केन्द्र रोजेको बताइएको छ ।
पार्टी प्रवेशपछि अध्यक्ष प्रचण्डले साहको आगमनले पार्टी अझ बलियो हुने विश्वास व्यक्त गरेका छन् । साहको आगमनसँगै माओवादी केन्द्रले बारा लगायत मधेशमा थप सशक्त उपस्थिति जनाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: २०८२ असार ५, बिहीबार ०८:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको