कलाकार अभिनाशकी श्रीमती अन्सा सदाय झुण्डिएको अवस्थामा मृत फेला



जनकपुरधाम, असार १० । ‘कलकतियाबाली’ नामले परिचित स्थानीय हास्य कलाकार अभिनाश झाकी पत्नी अन्सा सदाय सोमबार राति मृत फेला परेकी छन्। जनकपुरधाम उपमहानगरपालिका–१५ स्थित ‘सुटिङ सेट’ नामक घरमा झुण्डिएको अवस्थामा उनको शव भेटिएको हो।

धनुषा प्रहरी प्रवक्ता डिएसपी बरुण बहादुर सिंहका अनुसार राति करिब ९ बजेतिर अन्सा मृत अवस्थामा फेला परेकी थिइन्। उक्त घरमा अन्सा आफ्ना श्रीमान् अभिनाशसँग बस्दै आएकी थिइन् भने सोही घरमा अन्य दुई युवा पनि सँगै बस्ने गरेका थिए। प्रहरीका अनुसार घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरेको थियो।

प्रहरीले घटनास्थलबाट केही प्रमाणहरू संकलन गरी शवलाई आज विहान कानूनी प्रक्रिया पूरा गरी प्रादेशिक अस्पताल जनकपुरधाममा पोस्टमार्टमका लागि पठाएको छ। डिएसपी सिंहका अनुसार प्रारम्भिक अवस्थामाथि अनुसन्धान भइरहेको छ र मृत्युको कारणबारे अझै पुष्टि हुन बाँकी छ।

उनले भने, “यो आत्महत्या नै हो कि कुनै अन्य कारणले भएको मृत्यु हो भन्ने पुष्टि गर्न अनुसन्धान भइरहेको छ। घटनाको सबै पक्ष खुलस्त पार्न प्रहरी गम्भीर छ।”

कलाकार अभिनाश झा र अन्सा सदायबीच गत माघ महिनामा मात्रै अन्तरजातीय विवाह भएको थियो। प्रेम सम्बन्धबाट विवाहमा रूपान्तरण भएको यो सम्बन्धको चर्चा जनकपुर क्षेत्रमा निकै भएको थियो। सामाजिक सञ्जालमा पनि उनीहरू सक्रिय देखिन्थे। अन्सा पछिल्लो समय सामाजिक मिडिया तथा कलाकारितामा पनि सक्रिय बन्दै आएकी थिइन्।

अन्साको असामयिक मृत्युले जनकपुरको कलाकार समुदाय स्तब्ध बनेको छ। थुप्रै कलाकारहरूले सामाजिक सञ्जालमार्फत शोक व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिनको माग गरेका छन्। साथै, अन्साको मृत्युलाई आत्महत्या भनेर निष्कर्षमा पुग्नुभन्दा पहिले सबै पक्षको सत्य तथ्य बाहिर ल्याउन प्रहरीलाई आग्रह गरिएको छ।

अन्सा सदायको मृत्यु आत्महत्या हो वा कुनै शंकास्पद घटनाको परिणाम भन्ने विषयमा यकिन भन्न अझै समय लाग्ने देखिन्छ। घटनासम्बन्धी अनुसन्धान जारी रहेकाले प्रहरीले सार्वजनिक गर्ने आधिकारिक निष्कर्षमा जनताको ध्यान केन्द्रित भएको छ। यसबीच मृतक अन्साप्रति श्रद्धाञ्जली अर्पण गर्दै कलाकार तथा सर्वसाधारणले न्यायको माग गरेका छन्।

प्रकाशित मिति: २०८२ असार १०, मंगलवार ०८:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको