नगरसभा रोक्न उपमेयरले दिएको रिट अदालतद्वारा खारेज

वृन्दावनको नगरसभा गर्ने बाटो खुल्यो


ओम प्रकाश यादव
रौतहट, असार १३ । रौतहटको वृन्दावन नगरपालिकाको नगरसभा रोक्न उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा दायर भएको रिट खारेज भएको छ।

वृन्दावन नगर उप(प्रमुख संगीता देवी रामले केहीदिन अघि मात्र उच्च अदालतमा नगरसभा स्थगित गर्नका लागि रिट दायर गराएकी थिइन्। अदालतमा रामले रिट दायर गरेपछि उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले असार १३ गतेसम्मका लागि नगरसभा स्थगित राख्न अन्तरिम आदेश दिएको थियो ।

उक्त मुद्दाको पेसी आजको लागि तोकिएको थियो । नगरसभाको सन्दर्भमा दुवै पक्षको कुरा सुनी निर्णयमा पुग्न उचित हुने देखिएको भन्दै उक्त मुद्दाको पेसी असार १३ गतेका लागि तोकिएको थियो। उक्त मुद्दाको सुनुवाई गर्दै आज अदालतले नगरसभा रोक्न नमिल्ने भन्दै दायर गरिएको रिट खारेज गरेको छ।

अदालतको आदेशपछि वृन्दावन नगरपालिकाको नगरसभा रोक्नका लागि भएको अन्तरिम आदेश बदर भएको छ। उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश गोकर्ण डाँगी र नेत्र आचार्यको संयुक्त इजलासले आज यस्तो आदेश दिएको हो।

अदालतले उपमेयर संगीता देवी रामको रिट खारेज गरिदिएपछि अब वृन्दावन नगरपालिकाको नगर अधिवेशन गर्ने बाटो खुल्ला भएको छ। वृन्दावन नगर प्रमुख विनोद प्रसाद कुर्मीले गएको असार १० गते नै आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट ल्याउन नगरसभाको आह्वान गरेका थिए।

नगर प्रमुख कुर्मीले नगर अधिवेशनको मिति तोकेपछि उपमेयर रामले नगर अधिवेशन रोक्न पाउनुपर्ने भन्दै उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा रिट दायर गरेकी थिइन्। त्यस कारण वृन्दावन नगरपालिकाले यस वर्ष सरकारले नगर अधिवेशन गर्न तोकेको समय असार १० गते आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट ल्याउन सकेन ।

तर अदालतले आज नगरसभा स्थगित राख्न दायर गरिएको रिट खारेज गरेपछि अब चाडै नगर अधिवेशन आह्वान गर्ने वृन्दावन नगरपालिकाको तयारी छ। असार मसान्त भित्रमै नगर अधिवेशन गरी आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट ल्याउन आफूहरु तयारी थालेको वृन्दावन नगर प्रमुख विनोद प्रसाद कुर्मीले बताएका छन्। नगरलाई नै बन्धक बनाई अस्तव्यस्त बनाउने नियतले दायर गरिएको रिट अदालतले खारेज गरी आफूहरुलाई न्याय दिलाएको उनले बताए।

सत्यको जीत जहिले नी हुँदै आएको मान्यतालाई स्थापित गर्दै सम्मानित अदालतले आज पुनः सत्यको पक्षमा निर्णय गरेको उनले बताए।

प्रकाशित मिति: २०८२ असार १३, शुक्रवार १७:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको