ओम प्रकाश यादव
रौतहट, असार १३। डिभिजन वन कार्यालय रौतहटका प्रमुख एवं वन अधिकृत हेमन्त साहले कृषि, वन र पशुको व्यापक विकास गरी किसानको जीवनस्तरमा सुधार ल्याउन आफूहरु लागि परेको बताएका छन्।
निजी एवं सार्वजनिक जग्गामा वन तथा कृषि प्रजाति तर्फ फलफूलको बिरुवा रोपण एवं व्यवस्थापन गर्न किसानहरुलाई अभिप्रेरित गरी उनीहरूलाई आवस्यक वन पैदावार तथा कृषि उपजमा आत्मनिर्भर बनाउनुपर्ने नीति आफूहरु लिएको वन कार्यालय प्रमुख साहले बताएका हुन् ।
डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरको आयोजनामा आज चन्द्रनिगाहपुर स्थित रहेको एन प्लाजा होटलको सभाहलमा आयोजित निजी तथा सार्वजनिक समूहहरुलाई जग्गा विकास तथा व्यवस्थापन र कृषि वन सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै डिभिजन वन कार्यालय प्रमुख साहले यस्तो बताएका हुन्।
कृषि, वन र पशुको विकास विना किसानको जीवनस्तरमा सुधार ल्याउन नसकिने भएको हुँदा कृषि, वन तथा पशुको व्यापक विकास गरी किसानलाई आत्मनिर्भर बनाउनुपर्ने आजको आवश्यकता रहेको उनले बताए।
उनले भने, ुनेपाल कृषि प्रधान देश हो, यहाँका अधिकांश व्यक्ति कृषिमा परनिर्भर छन, त्यस कारण कृषिका साथ साथै वन र पशुको व्यापक विकास र विस्तार गर्नुपर्छ, अनि मात्र किसानहरू आत्मनिर्भर हुनेछन् ।ु
वन कार्यालय रौतहटको प्रमुखको जिम्मेवारी सम्हालेदेखि नै आफू सार्वजनिक तथा निजी जग्गामा रहेको वनको व्यापक विस्तार एवं विकास गरी राष्ट्रलाई कृषि उत्पादनमा वृद्धि गरी योगदान पुर्याउने कामलाई प्राथमिकता दिँदै आएको उनले बताए।
त्यस्तै आफूले पशु र कृषि क्षेत्रको विकासका लागि पनि आवस्यक कदम चालेको उनले बताए।
नेपालको कृषि क्षेत्रलाई आर्थिक विकासको महत्वपूर्ण क्षेत्रको रूपमा लिने गरिन्छ, उनले भने, कृषि क्षेत्रको विकासबाट आर्थिक समृद्धि हासिल गर्न सकिने प्रशस्त सम्भावना देखिएकाले कृषि क्षेत्रको विकास कसरी गर्ने त्यस तर्फ लागेको उनले जनाए ।
कृषि क्षेत्रको विकासका लागि कृषि ज्ञान र प्रविधिको विस्तार गर्नुपर्छ, कृषकलाई आधुनिक प्रविधि, नयाँ विधि र वैज्ञानिक ज्ञानको तालिम दिनुपर्ने उनले धारणा राखे ।
त्यस्तै अनुसन्धान, शिक्षा, र प्रसारबिच समन्वय गर्दै नयाँ प्रविधि सबै किसानसम्म पुर्याउने, किसानलाई प्रविधिमैत्री बनाउँदै कृषिमा सूचना प्रविधिको प्रयोग बढाउने, उत्पादनको बजारीकरण र उचित मूल्य सुनिश्चितताका लागि बजारका आधारभूत पूर्वाधार विकास र न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने तथा निर्यात बढाउन अन्तर्राष्ट्रिय बजारमा कृषि उत्पादनको प्रतिस्पर्धात्मकता बढाउने तर्फ विशेष ध्यान दिनुपर्ने कुरामा उनले जोड दिए ।
डिभिजन वन कार्यालय प्रमुख हेमन्त साहको अध्यक्षतामा भएको कार्यक्रममा पारिवारिक निजी वन संघ नेपाल, रौतहट, हरीमाई विकास नेपाल सहितका समुहका गरी ४४ जना सहभागी भएका थिए।
कार्यक्रममा सहभागीहरुलाई डिभिजन वन कार्यालय रौतहटका वन अधिकृत नेपाली साह र अर्का वन अधिकृत अनिल कुमार महतो प्रशिक्षण दिएका थिए।
सहभागीहरुलाई जग्गा विकास तथा व्यवस्थापन कसरी गर्ने, के के कुरामा ध्यान दिने, जग्गाको विकास गरी कसरी जीवनस्तर सुधार्ने र कृषिको विकास गरी कृषिमा कसरी आत्मनिर्भर बन्ने भन्ने कुराको जानकारी दिइएको डिभिजन वन कार्यालयका वन अधिकृत ललन राउत कुर्मीले जानकारी दिएका छन्।




