जनकपुरधाम, असार २७ । विगत डेढ वर्षदेखि तलब सुविधा नपाएका एभरेष्ट पेपर मिलका मजदुरहरूले आज पुनः सञ्चालक ओम सर्राफको घरअगाडि प्रदर्शन गरेका छन्। उनीहरूले तीन सूत्रीय माग राख्दै बैनरसहित प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा सहभागी मजदुरहरूले जिल्ला प्रशासन कार्यालय धनुषामा २०८१ साल पुस २१ गते भएको त्रिपक्षीय सम्झौता तत्काल कार्यान्वयन गर्न माग गरे। त्यसबाहेक श्रम तथा रोजगार कार्यालय धनुषाले २०८२ असार ५ गते दिएको निर्देशन र काठमाडौंस्थित श्रम विभाग तथा श्रम अदालतका निर्णयहरू पनि तत्काल कार्यान्वयन गर्नुपर्ने उनीहरूको माग छ।
मजदुरहरूको भनाइमा अनुसार, सम्झौता कार्यान्वयनका लागि प्रमुख जिल्ला अधिकारीको रोहबरमा बैठक समेत भएको थियो, तर सञ्चालकहरूले त्यसलाई वेवास्ता गरे। सम्झौताका प्रावधानहरू पालना नगरेपछि प्रमुख जिल्ला अधिकारीले आफूले तलब भुक्तानी गराउन नसक्ने बताएपछि मजदुरहरू आन्दोलित बनेका हुन्।
एभरेष्ट पेपर मिलमा करिब अढाई सय मजदुर कार्यरत छन्, तर डेढ वर्षदेखि उनीहरूले तलब सुविधा पाएका छैनन्। मिल सञ्चालकहरूबीचको आन्तरिक विवादका कारण समस्या उत्पन्न भएको हो। सञ्चालकहरू मध्ये केहीले अन्यत्र पेपर मिल सञ्चालनमा ल्याएको र त्यसमार्फत आफ्ना पुराना मजदुरहरूको समस्या समाधान गर्न चासो नदेखाएको मजदुरहरूको आरोप छ।
एक मजदुरका अनुसार, ूहामीले सहमति गरेर पटक–पटक सम्झौता ग¥यौं, तर हरेकचोटि सञ्चालकहरू पछि हटे। अब सहन सकिँदैन, हामी हाम्रो श्रमको मूल्य माग्न यहाँ आएका हौं।ू
मजदुरहरूको भनाइ छ कि सञ्चालक ओम सर्राफ लगायतका व्यक्तिहरू महोत्तरी जिल्लाको एक ठाउँमा नयाँ मिल सञ्चालन गर्दै आएका छन्। त्यही मिलबाट उत्पादन र व्यापार भइरहेको भए तापनि पुराना मजदुरहरूको तलब भुक्तानीमा कुनै चासो नदेखाइएको उनीहरूको गुनासो छ।
यसअघि पनि पटक–पटक सम्झौताका प्रयासहरू भए पनि सञ्चालकहरू सधैं पछि हट्ने गरेको श्रमिकहरूको आरोप छ। आन्दोलनकारीहरूका अनुसार, उनीहरूका माग सम्बोधन नभए थप कठोर आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ। उनीहरूले कानुनी तथा प्रशासनिक माध्यमबाट न्याय नपाएको अवस्था आएपछि दबाबमूलक आन्दोलन गर्न बाध्य भएको बताए।
स्थानीय प्रशासनले समस्या समाधान गर्न प्रयास गरे पनि सञ्चालकहरू बीचको विवाद, गैरजिम्मेवारपन र श्रमिकप्रतिको उदासीनताका कारण समस्या झन जटिल बन्दै गएको छ। श्रमिकहरूले दैनिक गुजारा चलाउन गाह्रो भएको बताउँदै तत्काल समस्या समाधानको माग गरेका छन्।
एभरेष्ट पेपर मिलका मजदुरहरूको आन्दोलनमा स्थानीय नागरिक समाज, मजदुर संघसंस्था तथा मानवअधिकारकर्मीहरूले पनि ऐक्यबद्धता जनाएका छन्। उनीहरूले मजदुरहरूको न्यायोचित माग पूरा गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्।
सरकारका तर्फबाट मजदुर हकहित संरक्षण गर्ने भनिए पनि व्यवहारमा कार्यान्वयन नहुनु र श्रमिकले बारम्बार आन्दोलन गर्नुपर्ने अवस्था आउनु दुःखद भएको सामाजिक कार्यकर्ताहरूले बताएका छन्। श्रम अधिकारका सवालमा राज्यको चासो नहुनु र निजी कम्पनी सञ्चालकहरूको मनोमानीले हजारौं श्रमिकको भविष्य अन्योलमा परेको उनीहरूको ठम्याइ छ।
मजदुरहरूले भने, “हामी कुनै राजनीतिक उद्देश्यका लागि होइन, तलब र न्यायका लागि लडिरहेका छौं। अब पनि हाम्रो आवाज नसुनियो भने काठमाडौंसम्म गएर आन्दोलन गर्नेछौं।”




