श्याम कुमार ठाकुर
सिरहा, असार ३२ । सिरहाको कल्याणपुरका मेयर रामपुकार साहलाई घुस लिँदालिँदै पक्राउ गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले कल्याणपुरका मेयर लाई १ लाख रुपैयाँ घुससहित बुधवार रंगेहात पक्राउ गरेको हो।
मेयर साहले नगरपालिकामा २० लाख रुपैयाँको बजेटमा निर्माण भइरहेको नालासम्बन्धी योजनामा उपभोक्ता समितिसँग २० प्रतिशत कमिसन मागेका थिए। उपभोक्ता समितिले सो रकम दिन नसकेपछि साहले योजनाको चेक दिन अस्वीकार गरेका थिए।
एक सातासम्म बार्गेनिङ चलिरहेपछि, अन्ततः मेयरले चेक भुक्तानी अघि १ लाख र बाँकी रकम पछि दिने प्रस्ताव राखेका थिए। यही घुस रकम बुझ्ने क्रममा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो।
हाल अख्तियारको टोली कल्याणपुर नगरपालिकाको कार्यालयमै रही मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरिरहेको छ। आयोगका बर्दिबास कार्यालय प्रमुख रामबहादुर कुरुम्वाङका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।




