एजेन्सी
मुज्जफरपुर, साउन ९ । युवा राष्ट्रिय जनता दलका कार्यकर्ताहरूले बिहारको मुजफ्फरपुरमा उपमुख्यमन्त्री सम्राट चौधरीको पुतला दहन गरेका छन । राजद नेता तेजस्वी यादवमाथि गरिएको कथित अपमानजनक र असंवैधानिक टिप्पणीको विरोधमा राजदका युवाहरुले तीब्र आक्रोश व्यक्त गर्दै उपमुख्यमन्त्री चौधरीको पुतला दहन गरेका हुन ।
बिहार विधानसभा विपक्षी नेता तेजस्वी प्रसाद यादवमाथि सम्राट चौधरीले दिएको भनिएको अमर्यादित टिप्पणीले राजनीतिक सरगर्मी चुलिएको छ। प्रदर्शनकारी कार्यकर्ताहरूले उक्त टिप्पणीलाई तेजस्वी यादवप्रतिको अपमान मात्र नभई समग्र बिहारवासीको गरिमामाथिको प्रहार भएको आरोप लगाएका छन्।
कार्यक्रममा बोल्दै सनत कुशवाहाले भने, “यो केवल तेजस्वीजीमाथिको अपमान होइन, यो न्याय, विकास र लोकतन्त्रमा विश्वास गर्ने सम्पूर्ण बिहारवासीको अपमान हो।” उनले सम्राट चौधरीलाई तुरुन्त माफी माग्न माग गरे र चेतावनी दिए कि यदि भविष्यमा यस्ता मर्यादाविहीन अभिव्यक्ति दोहोरियो भने राज्यभर चरणबद्ध आन्दोलन सुरु गरिनेछ।
प्रदर्शनका क्रममा आक्रोशित युवाहरूले सम्राट चौधरीविरुद्ध नारा जुलुस गर्दै पुतला जलाए। उनीहरूले भने, “यदि अबको दिनमा सदनको गरिमा र लोकतान्त्रिक मूल्यहरूको उल्लंघन भयो भने, केवल राजद होइन, सम्पूर्ण बिहारवासी सडकमा उत्रनेछन्।”
धरनामा ठूलो संख्यामा युवा कार्यकर्ताहरूको उपस्थिति थियो। सहभागीहरूमध्ये अमरेन्द्र यादव, संतोष दास, दीपक ठाकुर, हैदर निजामी, पाले खान, वासिम अहमद मुन्ना, छोटू यादव, भारत यादव, हरेंद्र यादव र बिट्टू यादव जस्ता युवाहरू अग्रपंक्तिमा देखिए।
उनीहरूले सम्राट चौधरीको अभिव्यक्तिलाई अहंकारको नमूना भन्दै जनतालाई अपमान गर्ने प्रवृत्ति विरुद्ध जनदबाब सृजना गर्नुपर्ने आवश्यकता औंल्याए।
बिहारको राजनीतिमा पछिल्लो समय वाकयुद्ध चर्किँदै गएको छ। विपक्षी नेता तेजस्वी यादवविरुद्धको अभिव्यक्तिले राजद कार्यकर्ताहरूलाई सडकमा उत्रन बाध्य बनाएको छ। अब हेर्न बाँकी छ, उपमुख्यमन्त्री सम्राट चौधरीले माफी माग्ने छन् वा यो आन्दोलन अझ फैलनेछ।




