बिहारका उपमुख्यमन्त्री सम्राट चौधरीलाई ज्यान मार्ने धम्की



एजेन्सी
पटना, साउन १२ । बिहारका उपमुख्यमन्त्री सम्राट चौधरीलाई एक अज्ञात व्यक्तिबाट ज्यान मार्ने धम्की प्राप्त भएको छ । शनिबार राति एक व्हाट्सएप सन्देश मार्फत उक्त धम्की दिइएको हो, जसमा लेखिएको थियो, “हेलो सर, २४ घण्टा भित्र सम्राट चौधरीलाई गोली हान्नेछु, म साँच्चै बोल्दैछु ।”

यो धम्की बाहिरिएपछि बिहारको राजनीतिक वृत्तमा हलचल मच्चिएको छ भने सुरक्षा निकायहरू सक्रिय बनेका छन्।

धम्की दिइएको सन्देश मोबाइल नम्बर ६३६७२६३६५७ बाट आएको थियो, जुन ट्रूकलर एपमा विक्रम यादव नाममा देखिएको छ । डिप्टी सीएमका एक कार्यकर्ताले उक्त सन्देश प्राप्त गरेपछि तुरुन्त प्रहरीलाई जानकारी दिएका थिए । यसपछि सम्राट चौधरीको सुरक्षा टोलीलाई पनि सतर्क बनाइएको छ।

प्रहरीले घटनालाई गम्भीर रूपमा लिँदै साइबर सेलसँग सहकार्य गर्दै मोबाइल नम्बरको लोकेशन, कल डिटेल्स र डिजिटल प्रमाणहरू संकलन गर्ने कार्य सुरु गरिसकेको छ। प्रारम्भिक अनुसन्धानमा अनुमान गरिएको छ कि यो धम्की कुनै असामाजिक तत्व वा आपराधिक समूहबाट आएको हुन सक्छ ।

धम्कीप्रति प्रतिक्रिया दिँदै उपमुख्यमन्त्री सम्राट चौधरीले भनेका छन ,‘“जिसको धम्की देनी है, दे दीजिए।”
उनको यस भनाइबाट उनी धम्कीहरूबाट नआत्तिने संकेत मिलेको छ । यद्यपि, समर्थकहरूले सुरक्षामा थप कडाइ गरिएको जानकारी दिएका छन्।

जहाँ डिप्टी सीएमका समर्थकहरूले प्रहरीमा एफआईआर दर्ता भएको दाबी गरेका छन्, त्यहीँ सेंट्रल एसपी दीक्षाले भनेका छन् कि प्रहरीकहाँ अहिलेसम्म कुनै औपचारिक उजुरी वा जानकारी प्राप्त भएको छैन। उनले थप भनिन्, “हामी सम्बन्धित पक्षसँग सम्पर्क गरेर जानकारी लिन्छौं र आवश्यक परेमा साइबर सेलको प्रविधि सहायता पनि लिनेछौं।”

यस घटनाले बिहारको राजनीतिक सुरक्षा अवस्थामाथि गम्भीर प्रश्न उठाएको छ । उपमुख्यमन्त्रीजस्तो उच्च पदाधिकारीलाई खुलेआम यस्तो धम्की आउनु गम्भीर विषय हो। राज्य सरकार र सुरक्षा एजेन्सीहरूले यस्तो घटनाको गम्भीर अनुसन्धान गर्दै दोषीलाई शीघ्र पहिचान गरी कारबाही गर्नुपर्ने मागसमेत उठिरहेको छ।

प्रकाशित मिति: २०८२ श्रावण १२, सोमबार ०९:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको