जापान सागरमा चीन–रूसको गोप्य सैन्य अभ्यास सुरु



एजेन्सी, साउन १९ । अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा परमाणु पनडुब्बीको तैनातीको घोषणा भए पनि रुसले प्रत्यक्ष प्रतिक्रिया दिएको छैन । तर, उसले चीनसँग मिलेर जापान सागरमा ठूलो गोप्य सैन्य अभ्यास सुरु गरेको छ । यो सैन्य अभ्यासमा तोपखाना, पनडुब्बी र सतह–युद्ध क्षमताहरूको परीक्षण भइरहेको छ, जसमा दुबै देशका अत्याधुनिक युद्धपोत र पनडुब्बीहरू सहभागी छन्।

रूसी प्रशान्त बेडाले दिएको जानकारी अनुसार, उक्त अभ्यासलाई ‘म्यारिटाइम इन्टरएक्शन–२०२५’ नाम दिइएको छ, जुन आगामी मंगलबारसम्म चल्नेछ। अभ्यासमा डीजल र बिजुलीबाट सञ्चालन हुने पनडुब्बी, मिसाइल विध्वंसक युद्धपोत, र सामरिक तोपखानाहरूको प्रयोग भइरहेको छ।

हालको तथ्याङ्क अनुसार, युद्धपोतको संख्याका हिसाबले चीनको नौसेना विश्वकै सबैभन्दा ठूलो मानिन्छ। र, उसले रणनीतिक सन्देश दिनका लागि यस्ता संयुक्त अभ्यासहरूमा सक्रियता बढाएको छ। चीनको विध्वंसक बेडासहितका जहाजहरू यस अभ्यासमा भाग लिइरहेका छन्।

पूर्व रुसी राष्ट्रपति दिमित्री मेदवेदेवले ट्रम्पलाई ‘रुसमाथि प्रतिबन्धको धम्की नदिनु’ चेतावनी दिएका थिए। त्यसको जवाफस्वरूप ट्रम्पले रुसको नजिकै दुई परमाणु पनडुब्बी तैनाथ गर्ने घोषणा गरेका हुन्। यद्यपि, रुसले ट्रम्पको यस कदममा औपचारिक टिप्पणी नगरे पनि चीनसँग मिलेर अभ्यास गर्नुको अर्थ कूटनीतिक सन्देश दिनु हो भन्ने प्रष्ट देखिन्छ।

रुस र चीनले सन् २०२२ मा यूक्रेन युद्ध सुरु हुनु अघि ‘असीमित रणनीतिक साझेदारी’ सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका थिए। त्यसयता, उनीहरूले सैद्धान्तिक सहकार्यमा आधारित सैन्य अभ्यासहरूलाई तीव्रता दिएका छन्। विगत साढे तीन वर्षमा उनीहरूले थुप्रै सन्धि अभ्यासमार्फत अमेरिका नेतृत्वमा रहेको नाटो संगठनलाई चुनौती दिने संकेत दिएका छन्।

जापान सागरमा भएको यो अभ्यासले केवल अमेरिका र पश्चिमी गठबन्धनलाई मात्र होइन, जापान, दक्षिण कोरिया, र दक्षिण चीन सागरसँग जोडिएका अन्य देशहरूलाई पनि सचेत बनाएको छ। रणनीतिक विश्लेषकहरूका अनुसार, यो अभ्यास ‘शक्ति प्रदर्शन’ मात्र नभई, आगामी भू–राजनीतिक संघर्षको पूर्वाभ्यास पनि हुनसक्छ।

प्रकाशित मिति: २०८२ श्रावण १९, सोमवार ०८:०३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको