एजेन्सी, भदौ १० । आगामी बिहार विधानसभाको चुनावलाई लक्षित गर्दै कांग्रेस–राजदसहित विपक्षी दलहरूले १७ अगस्टदेखि सुरु गरेको ‘भोट अधिकार यात्रा’ आजदेखि नयाँ चरणमा प्रवेश गर्दैछ । यो यात्रामा अब कांग्रेसकी राष्ट्रिय महासचिव तथा सांसद प्रियंका गान्धी पनि सहभागी हुँदैछिन्।
२५ अगस्टमा एकदिनको विश्रामपछि आज अर्थात् २६ अगस्टदेखि यात्रा पुनः सुरु हुँदैछ । पार्टी स्रोतका अनुसार प्रियंका गान्धी आज र भोलि दुई दिनसम्म बिहारमै रहनेछिन्। उनले मधुबनी, दरभंगा र सुपौल जिल्लामा यात्रालाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ। यद्यपि कतिपय नेताहरूले उनी सीतामढी पुग्ने र जानकी मन्दिरमा पूजाआजा गर्ने सम्भावना पनि व्यक्त गरेका छन्, तर यसको औपचारिक पुष्टि पार्टीले गरेको छैन।
यो यात्राको नेतृत्व लोकसभा प्रतिपक्षका नेता राहुल गान्धी र बिहार विधानसभा प्रतिपक्षका नेता तेजस्वी यादवले गर्दै आएका छन्। उनीहरूसँगै भाकपा–मालेका महासचिव दीपंकर भट्टाचार्य, भीआईपी पार्टीका अध्यक्ष मुकेश सहनी लगायत विभिन्न दलका शीर्ष नेताहरू निरन्तर यात्रामा सहभागी हुँदै आएका छन्।
प्रियंका गान्धीको प्रवेशलाई विपक्षी गठबन्धनले महत्वपूर्ण रूपमा लिएको छ। खासगरी महिला मतदाताहरूलाई आकर्षित गर्ने उद्देश्यले उनको सहभागिता प्रभावकारी हुने अनुमान गरिएको छ। पार्टी भित्रै पनि कार्यकर्ताहरूले निरन्तर प्रियंका गान्धीलाई बिहार यात्रामा सहभागी गराउन माग गर्दै आएका थिए, जुन माग आज पूरा हुँदैछ।
विश्लेषकहरूको भनाइमा, बिहारको आधा जनसंख्या महिला भएकाले उनीहरूको समर्थन बिना कुनै पनि राजनीतिक दललाई चुनावी फाइदा हासिल गर्न गाह्रो हुन्छ। प्रियंका गान्धीले महिला मतदाताको मुद्दा, रोजगारी, शिक्षा र स्वास्थ्य सेवामा पहुँच जस्ता सवाललाई जोड दिने अपेक्षा गरिएको छ।
राजनीतिक पर्यवेक्षकहरूका अनुसार राहुल–तेजस्वीको नेतृत्वमा भइरहेको यो यात्रा कांग्रेस, राजद र अरू वामपन्थी दलहरूको साझा प्रदर्शन हो, जसको उद्देश्य प्रदेशमा बढ्दो महँगाई, बेरोजगारी र क्क्ष्च् जस्ता विवादित मुद्दामाथि सरकारलाई घेराबन्दी गर्नु हो। प्रियंका गान्धीको उपस्थितिले यात्रालाई थप ऊर्जा र जनसहभागिता दिने विश्वास गरिएको छ।
२६ अगस्टमा सुपौलबाट सुरु हुने कार्यक्रमअनुसार प्रियंका गान्धी विभिन्न सभा र जनसम्पर्कमा सहभागी हुनेछिन्। त्यसपछि दरभंगा र मधुबनीमा पुग्ने कार्यक्रम रहेको छ। दुई दिनसम्मको यात्रामा उनले स्थानीय महिला समूह, विद्यार्थी र कार्यकर्ताहरूसँग प्रत्यक्ष संवाद गर्ने तयारी पनि गरिएको पार्टी स्रोतले जनाएको छ।






