एजेन्सी, भदौ १० । भारत माथि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ५० प्रतिशत टैरिफ लगाउने तयारी पूरा गरेको छ । अमेरिकी होमल्याण्ड सेक्युरिटी विभागले यसको प्रारम्भिक ड्राफ्ट नोटिस सार्वजनिक गर्दै जानकारी दिएको हो । यो नयाँ टैरिफ २७ अगस्ट २०२५ देखि लागू हुने जनाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नै भारतमाथि लगाइएको २५ प्रतिशत टैरिफलाई बढाएर ५० प्रतिशत पु¥याउने घोषणा गरेका थिए। नोटिसअनुसार २७ अगस्ट बिहान १२ः०१ बजे (ईस्टर्न डेलाइट समय) पछि आयात वा भण्डारणबाट निकालिएका भारतीय वस्तुहरूमा नयाँ टैरिफ लागू हुनेछ।
अमेरिकाले यो निर्णयलाई रूसमाथि दबाब सिर्जना गर्ने रणनीतिको हिस्सा बताएको छ। वाशिङ्टनको लक्ष्य राष्ट्रपति भ्लादिमिर पुटिनलाई वार्ताको टेबुलमा ल्याएर युक्रेन युद्ध अन्त्यतर्फ धकेल्नु रहेको छ। अमेरिकाले रूसको तेल व्यापारमा अवरोध ल्याउने प्रयास गरिरहेको छ र भारतमाथिको यो टैरिफ त्यसैको अंश हो।
तर भारतले यसलाई “अन्यायपूर्ण“ ठहर गर्दै विरोध जनाएको छ। भारतीय विदेश मन्त्रालयले स्पष्ट गरेको छ कि देशका राष्ट्रिय हितलाई कुनै हालतमा सम्झौता गर्ने छैन।
विदेशमन्त्री एस. जयशंकरले शनिबार भारतको ऊर्जा नीति र विकल्पको कडा बचाउ गरेका थिए। उनले भारतलाई रूससँग तेल किन्ने कारण दोषारोपण गर्नु गलत भएको उल्लेख गर्दै भने, “चीन र युरोपेली मुलुकहरूजस्ता ठूला आयातकर्तामाथि यस्तो आलोचना नगरी भारतलाई मात्र निशाना बनाउनु निष्पक्ष होइन।“
जयशंकरले भारतको रणनीतिक स्वतन्त्रतालाई जोड दिँदै ऊर्जा आपूर्ति सम्बन्धी निर्णय सधैं राष्ट्रिय हितका आधारमा हुने स्पष्ट गरे।
प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सोमबार अमेरिकाको निर्णयविरुद्ध कडा प्रतिवाद गरेका थिए। अहमदाबादमा नागरिक परियोजनाको उद्घाटन गर्दै उनले भने, “मोदीका लागि किसान, पशुपालक र साना उद्यमीहरूको हित सधैं पहिलो प्राथमिकता हो। दबाब आउन सक्छ, तर भारत आफ्नो हितको रक्षा गर्न तयार छ।”
मोदीले आफ्नो सम्बोधनमा भगवान् श्रीकृष्ण र महात्मा गान्धीलाई स्मरण गर्दै भारत ’चक्रधारी’ कृष्ण र ’चर्खाधारी’ गान्धीको शक्ति बाट सशक्त रहेको सन्देश दिए।
विशेषज्ञहरूले यो टैरिफ भारत–अमेरिका व्यापारमा ठूलो असर पार्न सक्ने चेतावनी दिएका छन्। भारतका किसान, पशुपालक र साना उद्योगीहरू निर्यातमा बढी निर्भर हुने भएकाले यसले उनीहरूलाई प्रत्यक्ष असर गर्ने अनुमान गरिएको छ। तर भारतीय सरकार यो चुनौतीलाई अवसरमा बदल्ने रणनीतिमा लागेको देखिन्छ।
यसरी, २७ अगस्टदेखि लागू हुने ५०% अमेरिकी टैरिफले दुई देशबीचको सम्बन्धमा नयाँ तनाव थप्ने निश्चित देखिएको छ। भारतले आफ्नो रणनीतिक स्वतन्त्रता कायम राख्ने सन्देश स्पष्ट दिएका कारण अबको कूटनीतिक संवाद निर्णायक हुने अनुमान गरिएको छ।






