एजेन्सी, भदौ १५ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपको भारत भ्रमण रद्द भएको छ । यसै वर्ष भारतमा आयोजना हुन लागेको क्वाड शिखर सम्मेलनमा पनि उनी सहभागी नहुने भएका छन् । हालसम्म यसबारे आधिकारिक पुष्टि भारत वा अमेरिकी पक्षबाट आएको छैन।
ट्रंपले भारतमाथि लागू गरेका ५०% ट्यारिफका कारण दुई देशबीच व्यापारिक सम्बन्धमा तनाव बढ्दै गएको छ । न्यूयोर्क टाइम्सका अनुसार ट्रंप यस वर्षको अन्त्यमा हुने भारत भ्रमणको योजना रद्द गर्न बाध्य भएका छन् । ट्रम्पको पछिल्लो कदमले भारत र अमेरिकाबीचको दुरी झन बढदै गएको पुष्टि भएको छ ।
भारतले यस वर्षको अन्त्यमा आयोजना हुने क्वाड शिखर सम्मेलनको मेजबानी गर्न तयारी पूरा गरिसकेको छ। जनवरीमा अमेरिकी प्रशासनले क्वाड विदेशमन्त्रीहरूको बैठक पनि यही सन्दर्भमा आयोजना गरेको थियो।
ट्रंपले भारत–पाकिस्तान विवादमा हस्तक्षेप गरेको दाबी गर्दा पनि सम्बन्धमा खटपट देखिएको छ। भारतले स्पष्ट पारिसकेको छ कि दुई देशबीचको विवाद रोक्न कुनै पनि देशले मध्यस्थता गरेको छैन।
ट्रंपको ट्यारिफ युद्ध र अमेरिका–भारत सम्बन्धमा तनावका बीच, प्रधानमन्त्री नरेन्द्र मोदी चीन भ्रमणमा छन्। भ्रमणका क्रममा उनी चिनियाँ राष्ट्रपति चिनफिङ्ग र रूसी राष्ट्रपति भ्लादिमिर पुतिनसँग भेट्नेछन्। यो यात्रा विशेषगरी अमेरिका संग बिग्रिएका सम्बन्धका बीचमा महत्वपूर्ण मानिएको छ।






