एजेन्सी, भदौ २२ । इजरायली सेनाले गाजा सिटीका लाखौं बासिन्दालाई आफ्नो घर–सहर छोडेर दक्षिणी भागमा बनाइएको सुरक्षित क्षेत्रमा जान निर्देशन दिएको छ। तर, स्थानीयवासीले शहर छोड्न अस्वीकार गरेका छन्।
इजरायलले गाजा पट्टीको यो सबैभन्दा ठूलो शहरलाई खाली गराएर हमासविरुद्ध ठाडो सैन्य कारबाही गर्ने तयारी गरिरहेको छ। यो त्यही क्षेत्र हो जसमा २३ महिनादेखिको संघर्षमा पनि इजरायली सेना पूर्ण नियन्त्रण स्थापित गर्न सकेको छैन।
इजरायली सेनाको दाबी अनुसार, पछिल्ला साताहरूको कारबाहीमा गाजा सिटीका बाहिरी इलाकामा उसले नियन्त्रण कायम गरेको छ, तर घना बस्ती रहेको मध्य भाग अझै नियन्त्रणबाहिर छ। सेनाले शंका व्यक्त गरेको छ कि त्यहाँ अपहृत इजरायली नागरिकहरूलाई हमासले बन्धक बनाएर राखेको छ। हाल हमासको नियन्त्रणमा ४८ जना बन्धक रहेको दाबी गरिएको छ, जसमा करिब २० जना जीवित रहेको अनुमान गरिएको छ।
प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको निर्देशनअनुसार गाजा सिटी कब्जा गर्ने लक्ष्यसहित इजरायली सेनाले बाहिरी इलाकामा जमीनी कारबाही र सम्पूर्ण शहरमा हवाई आक्रमण गरिरहेको छ। बाहिरी क्षेत्रमा अधिकांश मानिसले क्षेत्र छोडे पनि शहरको मध्यभागमा अझै लाखौं नागरिक अडिएका छन्। घेराबन्दीका कारण उनीहरूलाई खाना र आवश्यक सामग्रीसम्म पाउन मुस्किल भइरहेको छ।
नेतान्याहूले गाजा सिटीमा स्थायी कब्जा गर्ने र त्यसको सुरक्षा इजरायलले नै गर्ने घोषणा गरेका छन्। तर, मध्यस्थता गरिरहेका मिस्त्र र कतारले नेतान्याहूको यो घोषणा र गाजावासीलाई शहर छोड्न गरिएको आदेशको निन्दा गरेका छन्।
२३ महिनादेखि जारी संघर्षमा हालसम्म ६४ हजारभन्दा बढी फलस्तीनी मारिएका छन्। यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना अधिकारीहरू हमाससँग गम्भीर वार्ता गरिरहेको बताउँदै गाजाको भविष्य त्यसै वार्ताको परिणामसँग जोडिएको बताएका छन्।






