काठमाडौँ , मंसिर २१ । जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा भएको आगजनीले ठूलो परिमाणमा मिसिल नष्ट भएपछि, ती मुद्दाहरूको पूर्णपाठ तयार गर्दा ‘मिसिल नष्ट भएको’ विवरण अब फैसला को अन्तिम भागमै उल्लेख गर्न थालिएको छ।
गत भदौ २४ गते सर्वोच्चमा आगजनी हुँदा धेरै मुद्दाका सक्कल मिसिल जलेर नष्ट भए। सक्कल अभिलेख नभेटिएपछि इजलास अधिकृतले न्यायाधीशलाई पठाएका कागजात, इमेलमार्फत प्राप्त मस्यौदा तथा मुद्दा व्यवस्थापन प्रणालीमा रहेको विवरण हेरेर धमाधम फैसला लेख्ने कार्य भइरहेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले बताए।
उनका अनुसार सक्कल मिसिल नभएकाले अहिले औसत ८–१० पानाको पूर्णपाठ तयार भइरहेको छ र अन्तिम भागमा ‘मिसिल नष्ट भएको’ भन्ने उल्लेख अनिवार्य राखिँदैछ।
सर्वोच्चको संवैधानिक इजलास, रिट शाखा, मुद्दा फाँटलगायतका धेरै शाखामा रहेका चालु मिसिलसमेत जलेका थिए। फुलकोर्ट बैठकले स्वीकृत गरेको ‘विशेष परिस्थितिका कारण नष्ट भएका मिसिल कागजात प्राप्ति र प्रमाणीकरण निर्देशिका–२०८२’ अनुसार अहिले धमाधम वर्गीकरण, संकलन र प्रमाणीकरणको काम भइरहेको छ।
हालै ट्रेडमार्क विवादसम्बन्धी एक मुद्दाको पूर्णपाठमा पनि सर्वोच्चले यही शैलीमा मिसिल जलेको र उपलब्ध टिपोटका आधारमा फैसला तयार गरिएको स्पष्ट रूपमा उल्लेख गरेको थियो।
३ हजार ६८७ मिसिल नष्ट, हजारौँ संवेदनशील मुद्दा प्रभावित
सर्वोच्च प्रशासनका अनुसार भदौ २४ गतेसम्म फैसला भई पूर्णपाठ लेख्न बाँकी रहेका ३,६८७ मिसिल नष्ट भएका छन्। यीमध्ये
बाल यौन दुर्व्यवहार , कर छली ,मुद्धा व्यवस्थापन समस्या ,भ्रष्टाचार , कर्तव्य ज्यान ,जर्बजस्ती करणी ,लागुऔषध ,सरकारी सम्पत्ति हानी
जस्ता संवेदनशील मुद्दाहरू पनि परेका छन्।
राष्ट्रसंघका पूर्वउच्च कर्मचारी पीटर जोन डाल्गसिसको वन्दीप्रत्यक्षीकरण रिटदेखि ओम अस्पतालविरुद्धको क्षतिपूर्ति मुद्दा समेत यसमा समावेश छन्।
२ हजार ८ सय मिसिल पुनःप्राप्त
मंसिर १ देखि १७ गतेसम्म २,८०० मिसिल पुनःप्राप्त भइसकेका छन्। प्रमाणीकरणपछि ६० मुद्दा पेसी चढेर सुनुवाइ गरिसकिएको सर्वोच्चले जनाएको छ।
प्राप्त मिसिलको प्रमाणीकरण न्यायाधीश, रजिस्ट्रार र सम्बन्धित शाखाले अनिवार्य रूपमा गर्ने व्यवस्था छ।
जेनजी आन्दोलनका क्रममा देशभरका २३ अदालतमा झण्डै ९ लाख ३३ हजार ८२३ मिसिल पूर्ण रूपमा नष्ट भएका थिए। सर्वोच्चमै ८३ प्रतिशत चालु मिसिल जलेका भएका छन्।
मिसिल पुनर्निर्माणका पाँच विधि
सर्वोच्चले नष्ट भएका मिसिल खडा गर्न पाँच उपाय अपनाएको छ—
अदालत वा अन्य निकायमा रहेको फाइलरप्रतिलिपि संकलन
वेबसाइटमा रहेका फैसलारकागजात संकलन
न्यायाधीश तथा कर्मचारीसँग रहेका कागजात संकलन
विद्युतीय रूपमा आदानप्रदान भएका कागजात संकलन
‘उपयुक्त माध्यम’ बाट थप विवरण सङ्कलन
यसरी संकलित फाइललाई पाँच चरणमा वर्गीकरण गरी पुनः पेसी चढाइने व्यवस्था गरिएको छ।




