एजेन्सी, पुस ८ । पाकिस्तान तहरीक–ए–इंसाफ (पीटीआई) का कार्यकर्ताहरू तोशाखाना–२ मुद्दामा पीटीआईका संस्थापक इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्ष जेल सजाको फैसला विरुद्ध देशको विभिन्न भागमा प्रदर्शन गरेका छन्।
पेशावरमा खैबर पख्तूनख्वा विधानसभा भवन बाहिर जम्मा भएका प्रदर्शनकारीहरूले खानको समर्थनमा नाराबाजी गरे। विरोध प्रदर्शनको क्रममा नेशनल असेंबली सदस्य शंदना गुलजारले इमरान खानलाई आम जनताको र विशेषगरी गरीबहरूको हितका लागि लड्ने नेता भएको बताइन।
‘इमरान खानले कहिल्यै आफ्नै लागि केही खोजेका छैनन्, उनी गरीबहरूको हकका लागि लडिरहेका छन्,’ उनले भनिन्। लघारी क्षेत्रमा विरोध प्रदर्शनको नेतृत्व नवागई तहसील परिषदका अध्यक्ष तथा पीटीआईका पूर्व जिल्ला अध्यक्ष खलीलुर रहमानले गरे।
कार्यकर्ताहरूले पार्टी झण्डा बोकेर पाकिस्तान मुस्लिम लीग(नवाज नेतृत्वको केन्द्र सरकार र फैसला सुनाउने न्यायाधीशको विरोधमा नारा लगाएका थिए। उनीहरूले अदालतको फैसला अस्वीकार गर्दै यसलाई पाकिस्तानको न्याय प्रणालीका लागि ठूलो झटका भएको र २७औं संवैधानिक संशोधनपछि न्याय प्रणाली कमजोर भएको आरोप लगाए।






