छिमेकी देशहरूसँग सकारात्मक भूमिका निभाउँछु : परराष्ट्रमन्त्री शर्मा



काठमाडौँ , पुस ११ । नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले नेपालको अन्तर्राष्ट्रिय छवि मजबुत बनाउने गरी आफूले काम गर्ने प्रतिबद्धता जनाएका छन्। शुक्रबार परराष्ट्र मन्त्रालय पुगेर पदभार ग्रहण गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले छिमेकी तथा मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई सकारात्मक दिशामा अघि बढाउने बताए।

मन्त्री शर्माले आफू व्यक्तिगत स्वार्थका लागि नभई देश र मन्त्रालयको हितका लागि मन्त्रिपरिषद्मा सहभागी भएको स्पष्ट पारे। “मन्त्रिपरिषद्मा आउँदा देश र मन्त्रालयलाई फाइदा हुन्छ भने आउनुपर्छ भन्ने सोचका साथ जिम्मेवारी सम्हालेको हुँ,” उनले भने, “नेपालको छवि विश्वभर कसरी राम्रो बनाउने भन्ने विषयमा मेरो प्राथमिकता रहनेछ।”

उनले नेपालजस्तो मुलुकमा जिम्मेवारी खाली राख्दा समस्या बढ्ने उल्लेख गर्दै, आवश्यक परे जिम्मेवारी सम्हालेर काम गर्नु नै राष्ट्रहित हुने धारणा राखे। परराष्ट्र मन्त्रालयअन्तर्गत कार्यरत राजदूतहरूको कामको मूल्याङ्कन भइरहेको उल्लेख गर्दै उनले सबैले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गरेको विश्वास व्यक्त गरे।

आगामी निर्वाचनसँग सम्बन्धित विषयमा छिमेकी देशहरूसँग आवश्यक परे सही र मर्यादित तरिकाले सहकार्य गरिने पनि मन्त्री शर्माले बताए। उनले नेपालका छिमेकी मुलुकहरूसँगको सम्बन्ध संवेदनशील र महत्वपूर्ण भएकाले कूटनीतिक सन्तुलन कायम राख्दै अघि बढ्ने प्रतिबद्धता जनाए।

मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई अझ सुदृढ र सकारात्मक बनाउँदै नेपालको हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति सञ्चालन गरिने मन्त्री शर्माको भनाइ छ।

प्रकाशित मिति: २०८२ पुष १२, शुक्रवार १६:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको