बन्दसूची बुझाउन जसपा नेपाल पुग्यो आयोग



काठमाडौँ, पुस  १४ । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची बुझाउने आज अन्तिम दिन भएकाले निर्वाचन आयोगमा राजनीतिक दलहरूको चहलपहल तीव्र बनेको छ। सोही क्रममा जनता समाजवादी पार्टी(जसपा) नेपालका नेताहरू समानुपातिक उम्मेदवारको बन्दसूची लिएर आयोग पुगेका छन्।

निर्वाचन आयोगले तोकेको समयसीमाभित्र बन्दसूची पेश गर्नुपर्ने भएकाले अधिकांश दलहरू उम्मेदवार छनोटको अन्तिम गृहकार्यमा व्यस्त देखिएका छन्। जसपा नेपाल आयोग पुगेसँगै आयोग परिसरमा अन्य दलका नेताहरूको पनि बाक्लो उपस्थिति देखिएको छ।

आयोगका अनुसार हालसम्म पाँच दलले समानुपातिकतर्फको बन्दसूची बुझाइसकेका छन्। सूची बुझाउने दलहरूमा नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, जनप्रिय लोकतान्त्रिक पार्टी र नेपाली कम्युनिस्ट पार्टी मार्क्सवादी( पुष्पलाल)रहेका छन्।

निर्वाचन आयोगले दिएको जानकारीअनुसार नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चा पार्टीले समानुपातिकतर्फ १ सय १०–१ सय १० जना उम्मेदवारको बन्दसूची बुझाएका छन्। त्यस्तै, नेपाल लोकतान्त्रिक पार्टी र जनप्रिय लोकतान्त्रिक पार्टीले १२–१२ जनाको सूची आयोगमा दर्ता गराएका छन् भने नेपाली कम्युनिस्ट पार्टी मार्क्सवादी ९पुष्पलाल० ले २० जना उम्मेदवारको नाम समावेश गरेको छ।

यसैबीच, नेपाली कांग्रेसका नेताहरू पनि आयोग परिसरमा पुगेका छन्। कांग्रेससहित अन्य ठूला दलहरू अन्तिम सूची टुंग्याउने आन्तरिक छलफलमा रहेको बताइएको छ।

निर्वाचन आयोगले समानुपातिकतर्फको बन्दसूची समावेशी सिद्धान्तअनुसार तयार गर्न दलहरूलाई निर्देशन दिएको छ। तोकिएको समयभित्र बन्दसूची नबुझाउने दलले समानुपातिकतर्फ निर्वाचनमा सहभागी हुन नपाउने कानुनी व्यवस्था रहेको आयोगले स्मरण गराएको छ।

आज साँझसम्म अधिकांश दलहरूले आयोगमा आफ्नो बन्दसूची दर्ता गराउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०८२ पुष १४, सोमबार १७:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको