एजेन्सी, पुस १६ । गाजामा पुग्ने मानवीय सहायता र अन्तर्राष्ट्रिय संगठनहरूको कार्यक्षेत्रलाई लिएर इजरायल र अन्तर्राष्ट्रिय समूहबीच मतभेद बढ्दै गएको छ।
इजरायलको दाबी छ कि यसले १० अक्टोबरमा लागू भएको युद्धविराममा तय गरिएका सहायता प्रतिबद्धताहरू पूरा गरिरहेको छ। तर मानवीय संगठनहरूले इजरायलको तथ्यांकमा प्रश्न उठाउँदै यस क्षेत्रका २० लाखभन्दा बढी मानिसको लागि अझ बढी सहयोग आवश्यक रहेको बताइरहेका छन्।
यसैबीच, इजरायलले मंगलबार घोषणा गरेको छ कि डाक्टर्स विदाउट बोर्डर्स सहित करिब दुई दर्जन अन्तर्राष्ट्रिय मानवीय संगठनहरू २०२६ देखि गाजामा काम गर्न सक्ने छैनन्। इजरायलका अनुसार यी संस्थाहरूले नयाँ नियमहरू पालना गर्न असफल भएका छन्।
ब्रिटेन, क्यानडा, फ्रान्स, डेन्मार्क, फिनल्याण्ड, आइसल्याण्ड, जापान, नर्वे, स्वीडेन र स्विट्जरल्याण्डले गाजामा मानवीय स्थिति बिग्रँदै गएकोमा गम्भीर चासो व्यक्त गरेका छन्। ब्रिटिश विदेश मन्त्रालयको संयुक्त बयानमा इजरायलसँग तत्काल आवश्यक कदम चाल्न आग्रह गरिएको छ।
इजरायलको डायस्पोरा मामिला मन्त्रालयका अनुसार, रोक लगाइने संगठनहरूले स्टाफ, फन्डिङ र अपरेसन सम्बन्धी जानकारी साझा गर्न नयाँ शर्तहरू पूरा गर्न सकेका छैनन्। मन्त्रालयले गाजामा काम गर्ने ठूला स्वास्थ्य संस्थामध्येका एक डाक्टर्स विदाउट बोर्डर्सलाई केही स्टाफ सदस्यहरूको भूमिकाबारे स्पष्ट पार्न असफल भएको आरोप लगाएको छ।
अन्तर्राष्ट्रिय संगठनहरूले भनेका छन् कि इजरायलका नियम उपयुक्त छैन र स्टाफको सुरक्षा जोखिममा पार्न सक्छन्। गाजामा करिब २५ वटा संगठन वा १५ प्रतिशत गैर(सरकारी संस्थाहरूको परमिट नवीकरण गरिएको छैन।
इजरायलले २०२४ मा पनि डाक्टर्स विदाउट बोर्डर्सका स्टाफमाथि सैन्य गतिविधिमा संलग्न भएको आरोप लगाएको थियो। त्यसबेला संगठनले स्पष्ट पारेको थियो कि उनीहरूले जानाजानी सैन्य गतिविधिमा संलग्न व्यक्तिहरूलाई कहिल्यै भर्ती गर्ने छैनन्।
परमिट नवीकरण नभएका अन्य ठूला संगठनहरूमा नार्वेजियन रिफ्यूजी काउन्सिल, केयर इन्टरनेशनल, इन्टरनेशनल रेस्क्यु कमिटी, आक्सफ्याम र क्यारिटास रहेका छन्। यी संगठनहरूले खाना वितरण, स्वास्थ्य सेवा, शिक्षा, मानसिक स्वास्थ्य र अपाङ्ग व्यक्तिका लागि सेवा जस्ता विभिन्न सामाजिक कामहरू गर्दै आएका छन्।






