मोरङ, पुस १६ । गृहमन्त्री ओमप्रकाश अर्यालले गत भदौ २३–२४ को जेनजी प्रदर्शनका क्रममा हराएका, लुटिएका हतियार र बन्दीगृहबाट फरार कैदीलाई आगामी फागुन २१ गते अगावै नियन्त्रणमा ल्याइने जानकारी दिनुभएको छ।
आज विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय सुरक्षा समितिको बैठकमा उहाँले फरार अधिकांश कैदीबन्दी सम्पर्कमा भइसकेको र बाँकीलाई विशेष अभियानमार्फत यथाशीघ्र नियन्त्रणमा ल्याइने स्पष्ट गर्नुभयो। उहाँले सरकार राजनीतिक दलहरूले औँल्याएका सुरक्षा चुनौतीप्रति संवेदनशील भएर काम गरिरहेको र दलसँगको संवादमा उत्तरदायी रहेको बताउनुभयो।
गृहमन्त्री अर्यालले भयरहित, निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सुनिश्चित गर्न सरकारले सञ्चालन गरेका कदमहरूमा सुरक्षा गोष्ठी पनि एक रहेको जानकारी दिनुभयो। उहाँले निर्वाचन लोकतन्त्रको असल अभ्यास भएको र यसले नागरिक शक्तिलाई सरकारमा पु¥याई शासनको वैधानिकता प्रदान गर्ने बताए।
उहाँले भन्नुभयो, “निर्वाचनबिना सुशासन कायम गर्न कठिन हुन्छ। देश थप अस्थिरतातर्फ धकेलिन सक्ने भएकाले सुशासन चाहनुहुन्छ भने निर्वाचनको विकल्प छैन।”
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गैरदलीय सरकारलाई तटस्थ भएर निर्वाचन सम्पन्न गराउन आग्रह गर्नुभयो। उहाँले सुरक्षा कर्मीका लागि आवश्यक साधनस्रोत सुनिश्चित गर्न गृह मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो।
सुरक्षा बैठकमा नेपाली सेनाका बलाधिकृत, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी बलका प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक र कोशी प्रदेशका १४ जिल्लाका सुरक्षा प्रमुखहरू सहभागी भएका थिए।
बैठकले निर्वाचनपूर्व, निर्वाचनको अवधि र निर्वाचनपश्चात् सञ्चालन हुने कार्यमा प्रदेश सरकारको सक्रियता सुनिश्चित गर्ने संयन्त्रहरू निर्माण गर्ने निर्णय गरेको छ।




