काठमाडौँ, माघ ३ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले गरेका ६ बुँदे निर्णय सार्वजनिक गरिएको छ। सभापति गगन थापाको अध्यक्षतामा नयाँ बानेश्वरमा शनिबार बसेको बैठकले निर्वाचन आयोगको पछिल्लो निर्णयलाई स्वागत गर्दै पार्टी एकता, आगामी प्रतिनिधिसभा निर्वाचन र नेतृत्व भूमिकाबारे महत्वपूर्ण निर्णय गरेको हो।
बैठकपछि पार्टी प्रवक्ता देवराज चालिसेले सार्वजनिक गरेको निर्णयमा निर्वाचन आयोगले दोस्रो विशेष महाधिवेशनका निर्णयलाई संविधान, कानुन र पार्टी विधानअनुसार मान्यता दिएकोलाई कसैको जित–हार नभई विधि र लोकतन्त्रको विजयका रूपमा व्याख्या गरिएको छ। बैठकले यस परिवर्तन प्रक्रियामा साथ दिने सम्पूर्ण नेता–कार्यकर्ता, शुभेच्छुक र सहयोगीप्रति आभार व्यक्त गरेको छ।
बैठकले वर्तमान परिस्थितिलाई एकता, सद्भाव र सहकार्यको समय भन्दै देश–विदेशमा रहेका सबै कांग्रेसजन, पार्टीका सबै तहका समिति तथा भ्रातृ र शुभेच्छुक संस्थाहरूलाई फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नवीन ऊर्जा र पूर्ण एकताका साथ सहभागी हुन आह्वान गरेको छ।
यसैगरी, विभिन्न कारणले पार्टीबाट निष्क्रिय रहेका वा पार्टी छाडेका नेता–कार्यकर्तालाई पुनः पार्टीमा फर्किन हार्दिक अपिल गरिएको छ। बैठकले निवर्तमान सभापति शेरबहादुर देउवासहित पूर्व नेतृत्वले पार्टीलाई पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै आगामी दिनमा उनको अभिभावकीय भूमिका रहने विश्वास व्यक्त गरेको छ।
निर्णयमा अब उप्रान्त कुनै पनि अप्राकृतिक गठबन्धन वा सत्ताकेन्द्रित सम्झौता नगर्ने स्पष्ट प्रतिबद्धता दोहोर्याइएको छ। कांग्रेसले मूल्य, मान्यता र सिद्धान्तमा अडिग रहँदै संविधानको रक्षा गर्ने, समृद्ध नेपालको नेतृत्व गर्ने तथा नवयुवा र आम जनताको आकांक्षा पूरा गर्ने संकल्प व्यक्त गरेको छ।
बैठकले यो चरणलाई “रूपान्तरण, एकता र विजयको नयाँ अध्याय” भन्दै समुन्नत नेपाल निर्माणको अभियानमा सबैलाई जोडिन आग्रह गर्दै निर्णयहरूको समापन गरेको छ।




