काठमाडौँ , माद्य १३ । टेरामक्स प्रविधि खरिद प्रकरणमा पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध दायर गरिएको भ्रष्टाचार मुद्दाको सुनुवाइ विशेष अदालतमा सुरु हुँदैछ । विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासमा उक्त मुद्दाको पेसी तोकिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध ३ खर्ब ५१ करोड रुपैयाँ बिगो मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियारका अनुसार पूर्वमन्त्री बस्नेतले कुनै आवश्यक अध्ययन तथा तयारीबिनै आफ्नो प्रस्तावमा टेरामक्स प्रविधि खरिद गर्ने निर्णय गराएको आरोप छ । उनले बजेट तथा कार्यक्रम स्वीकृतिको क्रममा स्वायत्त निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई इन्टरनेशनल कल मोनिटरिङ तथा भीओआईपी नियन्त्रणका लागि उक्त प्रणाली खरिद गर्ने निर्णय गराएका थिए ।
प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झामाथि कानुनी पूर्वाधार तयार नभएको अवस्थामा टेरामक्स लागू गर्न खोजिएको आरोप लगाइएको छ । खरिद निर्णयअघि गरिएको अध्ययनले आवश्यक कानुन बनेपछि मात्रै नागरिकको कल आदान–प्रदान र डेटा खपतको अनुगमन गर्न सकिने निष्कर्ष निकालेको थियो । तर, सो सुझावलाई बेवास्ता गर्दै झाले २१ माघ २०७३ मा टेरामक्स खरिदको निर्णय गराएको अख्तियारको दाबी छ ।
अख्तियारले प्राधिकरणका तत्कालीन सदस्य धनराज ज्ञवाली र टीकाप्रसाद उप्रेतीमाथि पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । कानुन मन्त्रालयको सहसचिव रहँदा ज्ञवाली प्राधिकरण बोर्डमा प्रतिनिधि भएर गएका थिए । सर्वोच्च अदालतले अदालतको अनुमतिविना नागरिकको कल डिटेल रेकर्डमा पहुँच नदिन निर्देशनात्मक आदेश जारी गरिसकेको अवस्थामा त्यसको उल्लङ्घन हुने गरी निर्णयमा संलग्न भएको आरोप उनीहरूमाथि लगाइएको छ ।
अख्तियारका अनुसार दुई जना विज्ञ सदस्य अनुपस्थित हुँदासमेत निर्णय गरिएको र यसमा मन्त्री बस्नेतसहित प्राधिकरणका पदाधिकारीहरूले मिलेमतो गरेको देखिएको छ । अब विशेष अदालतमा हुने सुनुवाइले यो बहुचर्चित प्रकरणको कानुनी दिशा तय गर्ने अपेक्षा गरिएको छ ।






