इरानका नयाँ सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी



एजेन्सी, फागुन २७ । इरानका नयाँ सर्वोच्च नेता मोज्ताबा खामेनी युद्धको क्रममा घाइते भएको खबर फैलिरहेका बेला उनी सुरक्षित र स्वस्थ रहेको दाबी इरानी राष्ट्रपतिको छोराले गरेका छन्। यो घोषणा इजरायल र संयुक्त राज्य अमेरिकासँग जारी तनावको पृष्ठभूमिमा आएको हो।

इरानी राष्ट्रपतिको छोरा तथा सरकारी सल्लाहकार युसेफ पेजेस्कियानले बुधबार आफ्नो टेलिग्राम च्यानलमार्फत मोज्ताबा खामेनीको अवस्थाबारे टिप्पणी गर्दै भने, “मैले खामेनी घाइते भएको खबर सुनेको थिएँ। तर सम्पर्कमा रहेका केही स्रोतहरूले उनलाई सुरक्षित र स्वस्थ भएको जानकारी दिएका छन्।”

यसअघि सरकारी टेलिभिजनले खामेनीलाई ‘रमजान युद्धका घाइते पूर्व सैनिक’ भनेर उल्लेख गरेको थियो, तर कहिले र कसरी घाइते भएको भन्ने स्पष्ट विवरण भने दिइएको थिएन।

मोज्ताबा खामेनी इस्लामिक गणतन्त्रका लामो समयसम्म सर्वोच्च नेता रहेका आयातुल्ला अली खामेनीका छोरा र उत्तराधिकारी हुन्। अली खामेनीको फेब्रुअरी २८ मा अमेरिका–इजरायलको संयुक्त आक्रमणमा मृत्यु भएपछि मोज्ताबा खामेनीलाई नयाँ सर्वोच्च नेताका रूपमा अघि सारिएको थियो। यसपछि मध्यपूर्व क्षेत्रमा तनाव र संघर्ष तीव्र बनेको छ।

५५ वर्षीय मोज्ताबा खामेनी सामान्यतया सार्वजनिक जीवनमा कम देखिने व्यक्ति हुन्। सर्वोच्च नेता घोषणा भएयता पनि उनले राष्ट्रलाई औपचारिक सम्बोधन गरेका छन्, तर अहिलेसम्म कुनै लिखित वक्तव्य सार्वजनिक भएको छैन।

यसैबीच, अमेरिकी पत्रिका न्युयोर्क टाइम्सले बुधबार प्रकाशित रिपोर्टमा तीन नाम नखुलाइएका इरानी अधिकारीहरूलाई उद्धृत गर्दै खामेनी घाइते भएको भए पनि सचेत अवस्थामा रहेको र सीमित सञ्चारसहित अत्यन्त सुरक्षित स्थानमा रहेको जनाएको छ।

प्रकाशित मिति: २०८२ फाल्गुन २७, बुधबार १६:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको