काठमाडौं, वैशाख ९ । काठमाडौँ उपत्यकाका स्थानीय तहहरूले आगामी शैक्षिक सत्र २०८३ का लागि आफ्नै शैक्षिक पात्रो सार्वजनिक गरेका छन्। उपत्यका मेयर्स फोरमको निर्णयअनुसार विद्यार्थी भर्ना अभियान वैशाख ११ गतेदेखि सुरु हुने र नियमित पठनपाठन वैशाख १५ गतेदेखि सञ्चालन हुने जनाइएको छ।
मेयर्स फोरमले संघीय सरकारको पछिल्लो निर्देशनले शैक्षिक क्षेत्रमा अन्योल सिर्जना गरेको निष्कर्ष निकाल्दै स्थानीय तहको अधिकार प्रयोग गरी वैकल्पिक क्यालेन्डर लागू गर्ने निर्णय गरेको हो। फोरमका अध्यक्ष तथा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले विज्ञप्ति जारी गर्दै उपत्यकाभित्रका सबै पालिकालाई सोही तालिका कार्यान्वयन गर्न आग्रह गरेका छन्।
यसअघि संघीय सरकारले विद्यार्थी भर्ना वैशाख १५ र कक्षा सञ्चालन वैशाख २१ गतेदेखि सुरु गर्ने सूचना जारी गरेको थियो। तर, शिक्षा नियमावली, २०५९ अनुसार शैक्षिक सत्र वैशाख १ गतेदेखि सुरु हुने व्यवस्था रहेको र संविधानले शिक्षा सम्बन्धी अधिकार स्थानीय तहलाई प्रदान गरेको उल्लेख गर्दै फोरमले फरक निर्णय लिएको जनाएको छ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार विद्यालय सञ्चालन, व्यवस्थापन तथा नियमन स्थानीय तहको अधिकार क्षेत्रभित्र पर्ने भएकाले विद्यार्थीको पढाइ प्रभावित हुन नदिन यस्तो कदम चालिएको फोरमको भनाइ छ। साथै, सर्वोच्च अदालतको अन्तरिम आदेशलाई ध्यानमा राख्दै शैक्षिक वातावरणलाई व्यवस्थित र एकरूप बनाउन प्रयास गरिएको उल्लेख गरिएको छ।
फोरमले शिक्षक संगठन, अभिभावक संघ तथा विद्यालय सञ्चालकहरूबाट प्राप्त सुझावका आधारमा कक्षा चाँडो सञ्चालन गर्नु उपयुक्त ठहरिएको जनाएको छ।
यससँगै, पछिल्लो इन्धन संकटप्रति चिन्ता व्यक्त गर्दै विद्यालयहरूलाई विद्युतीय सवारी साधनको प्रयोग बढाउन र आवश्यक परे अनलाइन कक्षा सञ्चालन गर्न तयारी अवस्थामा रहन पनि आग्रह गरिएको छ।






