इजरायली हवाई आक्रमणले लेबनानमा त्रास, ४ जनाको मृत्यु



एजेन्सी, वैशाख १३ । दक्षिणी लेवनानमा इजरायलले गरेको हवाई आक्रमण मा कम्तीमा ४ जनाको मृत्यु भएको छ। इजरायली सेनाले भने हिजबुल्लाहले इजरायलतर्फ रकेट प्रहार गरेपछि जवाफी कारबाही गरिएको दाबी गरेको छ।

इजरायल र लेबनानबीच भएको युद्धविराम सम्झौताले केही हदसम्म तनाव कम गरे पनि दक्षिणी लेबनानमा इजरायल र हिजबुल्लाहबीच झडप भने जारी नै रहेको छ। इजरायलले सो क्षेत्रमा ‘बफर जोन’ कायम गर्दै सेना तैनाथ राखेको बताइएको छ।



इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले लेबनानस्थित हिजबुल्लाहका आधार क्षेत्रमा आक्रमण तीव्र पार्न निर्देशन दिएका छन्। उनको यस निर्णयले युद्धविराम थप कमजोर बन्ने चिन्ता बढाएको छ।

इजरायली सेनाका अनुसार शनिबार राति दक्षिणी लेबनानका तीन स्थानमा हिजबुल्लाहका रकेट लन्चरलाई निशाना बनाइएको थियो। साथै, विभिन्न आक्रमणमा हिजबुल्लाहका लडाकुहरूलाई पनि लक्ष्य बनाइएको दाबी गरिएको छ।

इजरायली सेनाले हिजबुल्लाहले उत्तरी इजरायलतर्फ दुई रकेट प्रहार गरेको जनाएको छ, जसमा एकलाई बीचमै नष्ट गरिएको थियो। यस घटनामा मानवीय क्षतिको भने पुष्टि भएको छैन।

साथै, लेबनानका स्थानीय बासिन्दालाई दक्षिणी क्षेत्रमा पर्ने लिटानी नदी आसपास नजान चेतावनी दिइएको छ।

हिजबुल्लाहका एक कमाण्डरले इजरायलसँग अमेरिकी मध्यस्थतामा भएको युद्धविरामलाई “निरर्थक” भनेका छन्। यो प्रतिक्रिया युद्धविरामलाई थप तीन साताका लागि बढाइएको एक दिनपछि आएको हो।

यस घटनाले मध्यपूर्व क्षेत्रमा फेरि तनाव बढ्ने संकेत देखिएको छ।

प्रकाशित मिति: २०८३ बैशाख १३, आईतवार ०८:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको