कोलम्बियाको कोइला खानीमा विस्फोट, चार मजदुरको मृत्यु



काठमाडौं, वैशाख २८ । दक्षिण अमेरिकी देश कोलम्बियाको मध्य क्षेत्रमा रहेको एक कोइला खानीमा भएको विस्फोटमा चार मजदुरको मृत्यु भएको छ।

कुन्डिनामार्का क्षेत्रको कुकुनुबा इलाकास्थित लास क्विन्टास खानीमा भएको दुर्घटनामा फसेका चार मजदुरको शव उद्धार गरिएको स्थानीय प्रशासनले जनाएको छ। कुन्डिनामार्का क्षेत्रका गभर्नर जर्ज इमिलो रेले सामाजिक सञ्जालमार्फत घटनाको पुष्टि गरेका हुन्।

स्थानीय सञ्चारमाध्यमका अनुसार दुर्घटना हुँदा मजदुरहरू जमिनमुनि करिब ५०० मिटर गहिराइमा काम गरिरहेका थिए। विस्फोटको कारण अझै खुल्न नसकेको जनाइएको छ।

कुन्डिनामार्का रिस्क म्यानेजमेन्ट कार्यालयले घटनापछि उद्धार तथा आपत्कालीन टोली परिचालन गरिएको जनाएको छ।

स्थानीयवासीका अनुसार उक्त क्षेत्रमा अवैध वा साना स्तरमा सञ्चालन हुने धेरै खानीमा सुरक्षा मापदण्ड कमजोर हुने, पर्याप्त भेन्टिलेसन नहुने तथा अनुमति बिना सञ्चालन गरिने कारण यस्ता दुर्घटना बारम्बार हुने गरेका छन्।

यसअघि गत मे ४ मा पनि कुन्डिनामार्काकै सुताताउसा नगरपालिका क्षेत्रमा रहेको अर्को भूमिगत कोइला खानीमा विस्फोट हुँदा नौ जनाको मृत्यु भएको थियो भने छ जनाको उद्धार गरिएको थियो।

प्रकाशित मिति: २०८३ बैशाख २८, सोमबार ०८:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको