नेपालले अब नयाँ राजनीतिक एड्भेन्चर थेग्न सक्दैन : गगन थापा



काठमाडौं, भदौ ४ । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपालले तत्काल अर्को राजनीतिक ‘एड्भेन्चर’ धान्न नसक्ने बताएका छन् । उनले मुलुकलाई स्थिरता र जिम्मेवार राजनीतिक अभ्यास आवश्यक रहेकोमा जोड दिएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित ‘दोलखाका लोकनायकहरू’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै थापाले अहिले कुनै नयाँ राजनीतिक प्रयोग गर्ने समय नभएको बताए ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाँच वर्ष सरकार सञ्चालन गर्ने जनादेश पाएको भन्दै जनादेशअनुसार काम गर्ने अवसर दिनुपर्ने धारणा राखे । पाँच वर्षपछि कांग्रेसले सरकारको नेतृत्व गर्ने गरी आफूहरू तयारीमा रहेको उनले बताए ।

थापाले विगतका राजनीतिक घटनाक्रमबाट पाठ सिक्दै आफूहरूलाई सुधार गरेर अघि बढ्नुपर्ने बताए । नयाँ राजनीतिक शक्तिहरूलाई पनि पुराना दलहरूले गरेका गल्ती र भोगेका संकट नदोहोर्‍याउन उनले सुझाव दिए ।

सरकारलाई संख्यात्मक बहुमतलाई मात्र शक्तिको आधार नठान्न आग्रह गर्दै थापाले जनताको निरन्तर विश्वास र नैतिक नेतृत्व गुमेपछि ठूलो बहुमतसमेत कमजोर हुने बताए ।

उनका अनुसार विगतमा कांग्रेस र एमालेले पनि जनताको असन्तुष्टिलाई पर्याप्त रूपमा सम्बोधन नगरी आफूसँग रहेको बहुमत र जनादेशलाई नै पर्याप्त ठानेका थिए । त्यसको परिणाम अहिले राजनीतिक दलहरूले भोगिरहेको उनको भनाइ छ ।

‘दुई तिहाइ बहुमत हुँदैमा राजनीतिक शक्ति बलियो रहँदैन । जनसमर्थन र नैतिक नेतृत्व गुमेपछि त्यो शक्ति कमजोर हुन्छ,’ थापाले भने ।

लोकतन्त्रमा नैतिक नेतृत्वको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै उनले सरकारले आफूलाई मतदान गर्ने र नगर्ने दुवै पक्षका नागरिकको विश्वास कायम राख्नुपर्ने बताए ।

सभापति थापाले संसद्को गरिमा र सांसदहरूको जिम्मेवारीप्रति समेत प्रश्न उठाए । संसद्मा पुगेपछि सांसदहरूले आफूले बोल्ने प्रत्येक शब्द र गर्ने निर्णयप्रति गम्भीर हुनुपर्ने उनको भनाइ थियो ।

सांसदहरूले गैरजिम्मेवार ढंगले आफूलाई मन लागेको कुरा बोल्ने प्रवृत्ति बढेको भन्दै उनले संसद्को मर्यादा कायम राख्न सबै राजनीतिक दल र सांसद जिम्मेवार बन्नुपर्ने बताए ।

प्रकाशित मिति: २०८३ भाद्र ४, बिहिवार १८:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको