कपिलवस्तु, भदौ २३ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्राकृतिक विपत्तिबाट सहाराविहीन बनेका नागरिकको संरक्षण गर्नु राज्यको दायित्व भएको बताएका छन्।
कपिलवस्तुमा मंगलबार जसपा नेपाल जिल्ला समितिले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष यादवले विपद् प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै दीर्घकालीन पुनर्स्थापना र संरक्षणको जिम्मेवारीसमेत सरकारले लिनुपर्ने बताए।
उनले बाढी तथा अन्य प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकलाई राहत वितरणमा मात्रै सीमित नभई उनीहरूको दीर्घकालीन जीवनयापन सहज हुने गरी पुनर्स्थापनाका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए।
अध्यक्ष यादवले ठूला राष्ट्रहरूले गरेका गल्तीको असर नेपालजस्ता साना मुलुकले समेत भोग्नुपरेको उल्लेख गर्दै विपद्का कारण पीडित बनेका नागरिकका पक्षमा अन्तर्राष्ट्रिय तहमा न्याय र क्षतिपूर्तिको आवाज उठाउनुपर्ने बताए।
यसका लागि नेपालले संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा आफ्नो धारणा राख्नुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा जसपा नेपालका जिल्ला तथा स्थानीय तहका नेता, अगुवा कार्यकर्तालगायतको सहभागिता रहेको थियो।






