काठमाडौं, असोज १३ । नेपाली कांग्रेसको १५औं महाधिवेशन दुई दिन सरेको छ । महाधिवेशनको उद्घाटन असोज १८ गते खुलामञ्चमा हुने भएको छ। यसअघि असोज १६ गते महाधिवेशन उद्घाटन गर्ने कार्यतालिका तय गरिएको थियो।
कांग्रेसले भारी वर्षाका कारण केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया प्रभावित भएकाले महाधिवेशनको उद्घाटन दुई दिन पछि सारिएको जनाएको छ।
कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले मंगलबार विज्ञप्ति जारी गर्दै महाधिवेशनको नयाँ मिति र स्थानबारे जानकारी दिएका हुन्।
विज्ञप्तिअनुसार कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत वडा, गाउँपालिका र नगरपालिका तहका अधिवेशन सम्पन्न भइसकेका छन्। अहिले प्रदेश सभा क्षेत्रीय अधिवेशन र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन भइरहेका छन्।
देशका विभिन्न स्थानमा परेको भारी वर्षाका कारण केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया अझै जारी रहेको जानकारी निर्वाचन समिति र पार्टीका तहगत कार्यसमितिबाट प्राप्त भएको कांग्रेसले जनाएको छ।
यही अवस्थालाई मध्यनजर गर्दै महाधिवेशनको उद्घाटन समारोह असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ।
कांग्रेसले बाँकी रहेका अधिवेशन तथा प्रतिनिधि चयन प्रक्रिया सम्पन्न गर्दै महाधिवेशनको तयारी अघि बढाउने जनाएको छ।




