प्रेस काउन्सिलका चार सदस्यको विज्ञप्तिप्रति महासंघको आपत्ति, फिर्ता लिन माग



काठमाडौं, असोज १४ । नेपाल पत्रकार महासंघले प्रेस काउन्सिल नेपालका चार जना सदस्यले जारी गरेको व्यक्तिलक्षित विज्ञप्तिप्रति आपत्ति जनाउँदै उक्त विज्ञप्ति फिर्ता लिन माग गरेको छ।

महासंघका महासचिव रामप्रसाद दाहालले बुधबार जारी गरेको विज्ञप्तिमा काउन्सिलको लेटरहेड प्रयोग गरी महासंघका पूर्व लेखा समिति संयोजक दीपक पाण्डेलाई लक्षित गरेर जारी गरिएको विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।

महासंघले प्रेस काउन्सिलजस्तो सन्तुलनकारी र नियामक निकायको नाममा एकपक्षीय रूपमा व्यक्तिलक्षित वक्तव्य जारी हुँदा सञ्चार क्षेत्रको वातावरण प्रभावित हुने जनाएको छ। महासंघले विज्ञप्ति फिर्ता लिएर सहज वातावरण निर्माण गर्न काउन्सिलसँग आग्रह गरेको छ।

स्वरोजगारमूलक छापामाध्यमले प्राप्त गर्दै आएको लोककल्याणकारी विज्ञापनको रकममा आधासम्म कटौती भएपछि देखिएको समस्या समाधानका विषयमा असोज १३ गते महासंघ र प्रेस काउन्सिलबीच छलफल भएको थियो। छलफलका क्रममा केही विषयमा भनाभन भए पनि बैठक सौहार्दपूर्ण रूपमा सम्पन्न भएको महासंघको दाबी छ।

तर, उक्त छलफलमा सहभागी नभएका काउन्सिलका चार सदस्यले संयुक्त रूपमा व्यक्तिलक्षित विज्ञप्ति जारी गरेको भन्दै महासंघले आपत्ति जनाएको हो।

महासंघले समस्या समाधानका लागि दुई संस्थाबीच छलफल भइरहेको अवस्थामा काउन्सिलका नाममा अनुपस्थित सदस्यबाट एकपक्षीय वक्तव्य आउनुले प्रेस काउन्सिलको संस्थागत प्रतिष्ठा र सन्तुलनकारी भूमिकामाथि प्रश्न उठेको जनाएको छ।

यसअघि महासंघ काठमाडौं शाखाले पनि छलफलका क्रममा भएको सामान्य नोकझोकलाई अतिरञ्जित गर्दै अनुपस्थित सदस्यबाट विज्ञप्ति जारी गरिएको भन्दै उक्त विज्ञप्ति संस्थागत हो वा होइन भन्ने प्रश्न उठाएको थियो। महासंघको केन्द्रीय समितिले काठमाडौं शाखाको उक्त धारणामा समर्थन जनाएको छ।

यसअघि प्रेस काउन्सिलका चार बोर्ड सदस्यले संयुक्त विज्ञप्ति जारी गर्दै पत्रकार दीपक पाण्डेले काउन्सिलका अध्यक्षलाई लक्षित गरी धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका थिए। महासंघले भने उक्त विज्ञप्ति जारी गर्ने सदस्यहरू सो छलफलमा सहभागी नभएको जनाएको छ।

प्रकाशित मिति: २०८३ आश्विन १४, बुधवार १८:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको